Pages

पूर्वका सय युवालाई इजरायल जाने अवसर;

Thursday 15 August 2013
कारोबर सम्बाददाता
मीनकुमार नवोदित– विराटनगर, ७ साउन । कृषिको व्यावसायिकीकरणको कुरा चलिरहेका बेला पूर्वबाट कृषिसम्बन्धी तालिमका लागि १ सय युवाले इजरायल जाने अवसर प्राप्त गरेका छन् । इजरायल कृषिमा विश्वमै सफल मानिन्छ । इजरायल सरकारको सहयोगमा ती युवा कृषिसम्बन्धी तालिमका लागि जान लागेका हुन् ।

उनीहरूले त्यसबापत कुनै खर्च गर्नुपनेै छैन । भिसा, प्लेनभाडासहितको खर्च इजरायल सरकारले नै बेहोर्ने नेपालका लागि इजरायली राजदूत खनान गोडेरले जानकारी दिए । इजराज सरकारको सहयोगमा साना किसान विकास बैंकमार्फत् पूर्वका मोरङ, सुनसरी, झापा र इलामका १ सयजनासहित नेपालबाट २ सय ५ जना बिना लगानी इजरायल जाने मौका पाउने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माका अनुसार कृषि तालिम दिने उद्देश्यले २२ देखि ३० वर्ष उमेरका युवायुवती इजरायल जानेछन् । विभिन्न चरणबाट छनौट भएर आएका युवायुवतीको आइतबारदेखि विराटनगरमा अन्तिम छनौट सुरू गरिएको छ । २ सय १८ जनाबाट १ सयजना छनौट गरिने उनले जानकारी दिए । इजरायलमा उनीहरूले १० महिना कृषिसम्बन्धी सीप सिक्नेछन् । “हामीलाई कुन फल कहिले लगाउने भन्ने विषयमा जानै छैन,” शर्माले भने, “कुन बाली कहिले लगाउने, पानी लगाउने, माटोको तयारी, गोडमेलको तरिकालगायत आधुनिक कृषि प्रविधिबारे तालिम प्राप्त गर्नेछन् ।”

हप्ताको एकदिन तालिम लिनेछन् भने पाँच दिन कृषिसम्बन्धी प्रयोगात्मक अभ्यास गर्नेछन् । त्यसबापत उनीहरूले मासिक १ हजारदेखि १ हजार २ सय अमेरिकी डलरसमेत प्राप्त गर्नेछन् । अन्तिम छनौटका लागि इजराजयबाटै विशेषज्ञ टोली आएको छ ।

प्रमाणपत्र उत्तीर्ण, २२ देखि ३० वर्ष उमेरभित्रको हुनुपर्नेछ । त्यस्तै साना किसानमा आबद्ध बाबुआमाका छोराछोरीले मात्रै जाने अवसर पाउनेछन् । यसअघि धादिङ, मकवानपुर, चितवन र नवलपरासीबाट १ सय ५ जना छनौट भइसकेका छन् । भिसादेखि प्लेन खर्चसमेत नलाग्ने प्रमुख कार्यकारी अधिकृत शर्माले जानकारी दिए । “इजराजयमा तालिम लिएर आएपछि अनिवार्य रूपमा कृषि पेशामा आबद्ध हुनुपर्नेछ,” उनले थपे, “यदि उसको जग्गा कम छ भने छिमेकी र गाउँघरमा कृषिसम्बन्धी सीप सिकाउनुपर्ने छ ।”

सरकारले समेत यसपटकको बजेटमा समेत कृषिलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारकै पहलमा २ सय ५ जना युवा इजरायल जाने अवसर प्राप्त गरेका हुन् । यसैगरी अर्को चरणमा पनि युवालाई इजरायल पठाइने शर्माले जानकारी दिए ।

No comments:

Post a Comment