Pages

प्रथम केर्खा कपको तयारी अन्तिम चरणमा;

Wednesday 14 August 2013

पूर्वेली टाईम्स August - 14 - 2013;
केर्खा ।  झापाको केर्खामा आगामी भ दौ १ गतेदेखि हुन लागेको ‘प्रथम केर्खा कप-२०७०’ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका लागि झापा, मोरङ र सुनसरीका विभिन्न फुटबल क्लवहरु र लखनपुरस्थित सशस्त्र प्रहरी बल पाथिभरा गण समेत गरी १२ टिमले सहभागिता जनाउने आयोजक न्यू स्टार क्लव केर्खाका अध्यक्ष सागर पन्धाकले जानकारी दिए ।
अध्यक्ष पन्दाकका अनुसार प्रतियोगितामा मंगलबारे फुटबल क्लव, रोलिङ क्वल धुलाबारी, न्यू स्टार क्लव निलो र रातो (आयोजक), गोर्खा स्पोर्टिङ क्लव दमक, धरान फुटबल क्लव, सैनिक स्पोर्टिङ क्लव, पथरी ११ फुटबल क्लव, इलाम ११, रक्षा नेपाल क्लव डाँगीबारी र सतासीधाम स्पोर्टिङ क्लवले सहभागिता जनाउँदै छन् ।
झापाका लागि रोलिङ, सैनिक र सशस्त्रको टिमलाई दर्विलो मनिएको छ भने सुनसरीको धरान फुटबल क्लव र इलाम ११ लाई पनि प्रतियोगितामा बलिया स्पर्धिका रुपमा हेरिएको छ ।
बिगतमा हुने फुटबल प्रतियोगिताहरुले केर्खालाई फुटबलमार्फत चिनाउन महत्वपूर्ण भूमिका खेलेको भए पनि यसपालि पहिलो पटक केर्खाकै नाम जोडेर प्रतियोगिता गर्न लागिएको र यसले केर्खालाई फुटबलसँग प्रत्यक्ष जोड्ने क्लवका सचिव गोपाल साम्राले बताए ।
‘सबैका लागि खेलकुद’ नारा दिएर थालिएको फुटबल तयारी अन्तिम चरणमा पुगेको क्लवले जनाएको छ । प्रतियोगितामा दुई लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा स्थानीय स्तरबाट उल्लेख्य सहयोग प्राप्त भएको बताइन्छ । वैदेशिक रोजगारमा गएका केर्खाली युवाहरुबाट समेत प्रतियोगिताका लागि भरपूर सहयोग प्राप्त भएको अध्यक्ष पन्दाकले स्पष्ट पारे । उनले भने, ‘केर्खाभन्दा बाहिरबाट पनि सोचे भन्दा राम्रो सहयोग पाएका छौं । तर जुन तहको अपेक्षा गरेका थियौं, स्थानीयबाट त्यो भन्दा धेरै उत्साहपूर्ण सहयोग प्राप्त भएको छ ।’
प्रतियोगिता सम्पन्न गर्न स्थानीय रतुवा माई वृक्षारोपण आयोजनाका तर्फबाट २६ हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको र तोपगाछी गाविस कार्यालयबाट २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको जनाइएको छ । त्यस्तै स्थानीय विद्यालय, विभिन्न व्यवसायीहरुबाट समेत खेलका लागि स्वेच्छिक सहयोग प्राप्त भएको सचिव साम्राले बताए ।
प्रतियोगितामा विजेता र उपविजेताले नगद ४० र २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिता अन्तर्गत उत्कृष्ट खेलाडी, अनुशासित टिम, म्यान अफ दी म्याच लगायतका पुरस्कार समेत वितरण गरिने आयोजकले जनाएको छ ।
यसैबीच बिगतदेखि नै चर्चित केर्खाको फुटबललाई थप व्यवसायिक बनाउन यस पटकको प्रतियोगितादेखि नै राम्रा खेलाडीहरु सहितको टोलीलाई मैदानमा उतार्ने तयारी भइरहेको आयोजकले जनाएको छ । केर्खाको फुटबललाई थप सशक्त बनाउनका लागि ए डिभिजन खेलेका ५ जना खेलाडी सहितको बलियो टोलीले आयोजक टिमको नेतृत्व गर्ने बताइएको छ । केर्खामा आयोजना हुने प्रतियोगिताका लागि गुणस्तरीय खेल खेल्ने तयारी रहेको न्यू स्टार क्लव रातोका टिम क्याप्टेन राजकुमार लिम्बूले बताए । उनले भने, ‘केर्खा डाइनामिक फुटबल खेलाडीहरुको थलो हो । हामी केर्खाली फुटबलको इतिहासमा थप योगदान दिने तयारीमा जुटेका छौं ।’ राम्रो खेल प्रदर्शनका लागि खेलाडीहरूले कडा मेहनत गरिहेको लिम्बूले प्रतिक्रिया दिएका छन् ।
प्रतियोगिताका लागि रोलर प्रयोग गरेर खेल मैदान सम्याउने कार्य सम्पन्न गरिएको छ । व्यवस्थित खेल सम्पन्न गर्न ग्राउण्ड वरिपरि घेराबारा गर्ने कार्य थालिएको प्रतियोगिताका सञ्चार संयोजक नवीन खेबाङले बताए ।

No comments:

Post a Comment