Pages

झापाका ७ वटै निर्वाचन क्षेत्रको चुनावी अवस्था;

Tuesday 27 August 2013
पूर्वेली टाईम्स   August - 26 - 2013 विष्णु सुव्वा, दमक ।
मेची अञ्चलका १४ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिका प्रभावशाली नेताहरू चुनावी प्रतिस्पर्धा गर्दै छन्। एमाले अध्यक्ष झलनाथ खनाल, केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, कुलबहादुर गुरुङलगायतका नेता यही अञ्चलबाट चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन्। अघिल्लो निर्वाचनमा मेचीका ५ क्षेत्रमा एमाले, ५ क्षेत्रमै माओवादी, ४ क्षेत्रमा कांग्रेस निर्वाचित भएका थिए। हाल मतदाता संख्यामा पनि कमी आएको यस अञ्चलमा तीन पार्टीबीच नै तीव्र प्रतिस्पधा देखिन्छ ।
मेची अञ्चलका ४ जिल्लाका १४ मध्ये झापा जिल्लामै ७ वटा निर्वाचन क्षेत्र रहेका छन् । यसअगाडीको संविधान सभाको चुनावमा एमाले र कांग्रेसले १-१ वटा र बाँकी निर्वाचन क्षेत्रमा माओवादीले कव्जा जमाएपछि यो पटकको चुनावमा त्यस्तो सम्भावना देखिँदैन ।
क्षेत्रगत रूपमा हेर्दा झापामा चुनावी अवस्था यस्तो छ -

क्षेत्र नम्बर १

मेची नगरपालिकासहित ३ गाविस रहेको यस क्षेत्रमा एमाले, कांग्रेस र एमाओवादीबीच तीव्र प्रतिस्पर्धा छ।

झापाको उत्तर पूर्वमा रहेको यस क्षेत्रमा नगरपालिकामा मात्रै ३५ हजार मतदाता छन्। नगरपालिकाका १३ वडामध्येमा एमाले वडा नम्बर १, ४, ५, ९, १०, १२ र १३ मा अगाडि छ। अन्यमा कांग्रेस अगाडि देखिन्छ। १० हजार मत रहेको धाइजनमा एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिन्छ भने ८ हजार मतदाता रहेको शान्तिनगरमा पनि उस्तै छ। २२ हजार आसपास मतदाता रहेको बाहुनडाँगीमा एमाले निक्कै अगाडि छ। धाइजनमा कांग्रेस र एमाओवादी विगतको तुलनामा निकै कमजोर छन् भने शान्तिनगरमा एमालेको स्थिति सुदृढ बन्दै गएको छ। अस्तित्वमा रहेका संघीय लिम्बुवान र संघीय समाजवादीको प्रभाव पनि थोरबहुत छ। अघिल्लो निर्वाचनमा राजमार्गको उत्तरपट्टि माओवादीले जानै नसक्ने स्थिति बनाउँदा पनि माओवादी, कांग्रेस र एमाले तीव्र प्रतिस्पर्धा रहेको थियो। तर, अहिले आन्तरिक एकता मजबुद भएको र १ हजार ५ सयभन्दा बढी अन्य पार्टीका कार्यकर्ता प्रवेश गरेको हुनाले एमाले बलियो शक्ति मानिन्छ। यस क्षेत्रबाट एमालेका रविन कोइराला, विष्णु प्रसाईं, हरिचरण बानियाँ र गोपाल बुढाथोकीका साथै यसअघिका प्रतिस्पर्धी नरेश खरेलको पनि चर्चा छ। कांग्रेसबाट नरेन्द्रविक्रम नेम्वाङ, विश्वप्रकाश शर्मा, राम कट्टेल र उषा गुरुङबीच हानथाप छ भने एमाओवादीबाट बोधराज दाहाल र सौभाग्यको चर्चा छ।


क्षेत्र नम्बर २
करिब ६० हजारको वरिपरि मतदाता रहेको यस क्षेत्रमा ७ ठूला गाविस छन्। यस क्षेत्रमा पनि कांग्रेस, एमाले र एमाओवादीबीच त्रि-पक्षीय प्रतिस्पर्धा छ। २५ हजार मतदाता भएको अनारमनीमा क्रमशः कांग्रेस, एमाले र एमओवादीको स्थिति उस्तै-उस्तै छ। एमाओवादीले सबैभन्दा बलियो मान्ने गाविस पनि यही हो। चारपानेमा क्रमशः एमाले, कांग्रेस र एमाओवादीबीचमै प्रतिस्पर्धा छ भने १२ हजार मतदाता रहेको गरामुनीमा एमाले र कांग्रेसका बीचमा मात्रै प्रतिस्पर्धा छ। ४ हजार ५ सय मत रहेको हल्दिबारी र १० हजारभन्दा बढी मत रहेको चन्द्रगढीमा त्रि-पक्षीय भिडन्त हुने देखिन्छ। दुवागढीमा एमाले थोरै अगाडि भए पनि कांग्रेसले त्यसलाई ज्यामिरगढीबाट पूर्ति गर्ने देखिन्छ। अघिल्लो निर्वाचनमा करिब ५ हजारको मत अन्तरले गौरीशंकर खड्काले कांग्रेसका सुधीरकुमार सिवाकोटीलाई पराजित गरेका थिए। हाल त्यस क्षेत्रमा एमालेका नरेश खरेल, मनकुमार गौतम, एकराज कार्की, पवित्रा निरौला खरेल, रोमणि भट्टराई र लोकबन्धु कन्दङ्वाले इच्छा व्यक्त गरेका छन् भने कांग्रेसबाट सुधीर सिवाकोटी, काशीलाल चौधरी र गोपालकुमार बस्नेतको चर्चा छ। उता, एमाओवादीबाट मृत्यु भएका पूर्वसभासद् गौरीशंकर खड्काकी श्रीमती सीता खड्का, अग्नि आचार्य र राम कार्कीमध्येबाट उठ्ने चर्चा छ।

क्षेत्र नम्बर ३
साढे ५९ हजार मतदाता रहेको यस क्षेत्रमा भद्रपुर नगरपालिकासहित ९ गाविस पर्छन्। जसमा कांग्रेस, एमाले र एमाओवादीबीच तीव्र प्रतिस्पर्धा छ। सबैभन्दा बढी अर्थात् १० हजार ८ सय मतदाता रहेको भद्रपुर नगरपालिकामा कांग्रेस एमालेभन्दा थोरै अगाडि छ। ७ हजार आसपास मतदाता रहेको जलथल, पथरिया र पृथ्वीनगरमा एमाले थोरै अगाडि छ भने महेशपुर, बनियानी, बालुबारी, केतना, बाछामारीमा कांग्रेस अघि छ। पृथ्वीनगर सबैभन्दा बढी मतदाता भएको गाविस हो भने बालुबारी, केतना र बाछामारी ३ हजार ५ सयको आसपासमा मतदाता रहेका गाविस हुन्। करिब ४ हजार मत रहेको घेराबारीमा एमाओवादी, एमाले र कांग्रेस प्रतिस्पर्धी छन्। भद्रपुर नगरपालिका र जलथलमा एमाओवादीको स्थिति पनि राम्रै छ। राप्रपा र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)को मत पनि बराबर जस्तै देखिन्छ। संघीय समाजवादीको थोरै मत पृथ्वीनगरमा भए पनि अन्यमा त्यस्तो प्रभाव छैन। अघिल्लो चुनावमा गृहमन्त्री रहेकै बेला कांग्रेसका कृष्णप्रसाद सिटौला माओवादीका पूर्णप्रसाद राजवंशीसँग करिब साढे दुई हजारको मत अन्तरले पराजित भएका थिए भने एमाले तेस्रो भएको थियो। हाल कांग्रेसबाट सिटौला मात्रै प्रतिर्स्पर्धी छन् भने एमालेबाट पुष्प पोखरेल, वसन्त बानियाँ, जीवन श्रेष्ठ र शुभलक्ष्मी राईको नाम चर्चामा छ। एमाओवादीका पूर्वसभासद् पूर्णप्रसाद राजवंशी गुमनाम जस्तै छन् भने राप्रपा नेपालबाट राजेन्द्र लिङ्देल र फोरम (लोकतान्त्रिक)बाट भारतिन्दुकुमार मल्लिकको नाम चर्चामा छ। एमालेले यस क्षेत्रबाट चुनाव जित्न ग्रामीण क्षेत्रबाट उम्मेद्वार खडा गर्नुपर्ने देखिन्छ।

क्षेत्र नम्बर ४
९४ हजार मतदाता रहेको यस क्षेत्रमा ६ गाविस छन्। यस क्षेत्रको सबैभन्दा धेरै मतदाता भएको सुरुङ्गामा १५ हजार ७८ मतदाता छन्। ११ हजारभन्दा माथि मतदाता रहेको अर्जुनधारा र ७ हजारभन्दा माथि रहेको घैलाडुब्बामा कांग्रेस, एमाओवादी र एमालेबीच तीव्र प्रतिस्पर्धा छ। ९ हजारभन्दा माथि मतदाता रहेको खुदुनाबारीमा एमाले धेरै अगाडि छ भने १४ हजार आसपास रहेका शनिश्चरे र बुधबारेमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा छ। अघिल्लो निर्वाचनमा ३ हजारभन्दा बढीको मत अन्तरमा कांग्रेस नेता चक्र बाँस्तोलालाई माओवादीकी धर्मशिला चापागाईंले पराजित गरेकी थिइन्। दुई क्षेत्रबाट लड्ने भएमा इलाम-१ का अलावा एमाले अध्यक्ष झलनाथ खनालले दोस्रो विकल्पमा यो क्षेत्र राखेको बताइन्छ। मोहन वैद्य नेतृत्वको माओवादी चौथो हैसियतमा छ भने लिम्बुवान परिषद्को प्रभाव सामान्य छ। हाल एमालेबाट प्रेम गिरीको बढी चर्चा छ। तर, त्यस क्षेत्रमा एमालेकै हरि राना, हिरा थापा, मनकुमार गौतम र चिन्तन पाठकले पनि उम्मेदवार बन्न इच्छा देखाएका छन्। कांग्रेसबाट उद्धव थापा मैदानमा छन् भने एमाओवादीमा आफूलाई रक्तकाली भन्दै भोट मागेर जिते पनि चरित्रहीन गतिविधिमा लिप्त भएको खुलेपछि धर्मशिला चापागाईंको विकल्प खोजी भइरहेको बताइन्छ।

क्षेत्र नम्बर ५
७१ हजार १ सय ३६ मतदाता रहेको यस क्षेत्रमा १० गाविस छन्। जनजाति, क्षेत्री तथा बाहुनको मिश्रित बसोवास रहेको यहाँ कांग्रेस, एमाले र एमाओवादीबीच नै तीव्र प्रतिस्पर्धा छ। अघिल्लो निर्वाचनमा कांग्रेसका केशवकुमार बुढाथोकीले करिब १ हजार मत अन्तरले एमाओवादीका हर्कबहादुर खड्कालाई पराजित गरेका थिए। १५ हजार मतदाता रहेको सतासीधाममा त्रि-पक्षीय प्रतिस्पर्धा छ। ८ हजारको आसपास मत रहेको शिवगञ्ज, शरणामती, चकचकीमा क्रमशः कांग्रेस, एमाले र एमाओवादीको प्रभाव छ। ५ हजार आसपास मतदाता रहेका टांगनडुब्बा र कुमरखोदमा कांग्रेस थोरै मतले अगाडि छ भने ६ हजार मतदाता रहेको चकचकी र ५ हजार मतदाता रहेको डाँगीबारीमा एमाले अघि छ। ५ हजार मत रहेको गोलधापमा एमाले र राप्रपा नेपालबीच तीव्र प्रतिस्पर्धा छ भने ९ हजार मत रहेको राजगढमा एमालेभन्दा कांग्रेस अगाडि छ। संघीय समाजवादीको उपस्थिति नभए पनि लिम्बुवान परिषद् र जनमुक्ति पार्टी तथा मधेसी जनअधिकार फोरम नेपाल र फोरम (लोकतान्त्रिक) पनि सक्रिय दलभित्र पर्छन्। यस क्षेत्रमा एमालेबाट एलपी साँवा, खोदनाथ चापागाई र हरि राजबंशी आकांक्षी छन् भने कांग्रेसबाट केशवकुमार बुढाथोकी र देउमान थेवेबीच अस्वस्थ प्रतिस्पर्धा छ। राप्रपा नेपालबाट अहिलेसम्म कोही अघि सरेको छैन भने एमाओवादीबाट झलक दर्लामी उठ्ने बताइन्छ।

क्षेत्र नम्बर ६
करिब ७० हजार आसपासमा मतदाता रहेको यस क्षेत्रमा ९ गाविस पर्छन्। अघिल्लो निर्वाचनमा झापामा अकल्पनीय पराजयको सामना गर्दा पनि यस क्षेत्रमा एमालेका दीपक कार्कीले ३ हजार ८ सय ३० मत अन्तरले कांग्रेस उम्मेदवारका सूर्यनारायण ताजपुरियालाई पराजित गरेका थिए। हाल ६ देखि १२ हजारसम्म मतदाता रहेका गौरादह, महारानीझोडा, जुरोपानी र बैगुनधुरामा एमाले एक्लो प्रतिर्स्पर्धी जस्तै छ। यहाँ ६० देखि ७० प्रतिशत मतदाता एमालेको पक्षमा देखिन्छन्। करिब ६ हजार मतदाता रहेको कोहबरामा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा छ। ४ हजार ५ सय मतदाता रहेको र मधेसीको सघन बसोवास रहेको गौरीगञ्जमा कांग्रेस र सद्भावना पार्टीबीच प्रतिस्पर्धा छ। त्यस्तै, ४ हजार मतदाता रहेको खजुरगाछीमा क्रमशः कांग्रेस, एमाले र सद्भावना प्रतिस्पर्धी अवस्थामा छन्। ४ हजार मतदाता रहेको कोरोबारी र ५ हजार मतदाता रहेको महाभारामा पनि क्रमशः कांग्रेस, एमाले र मधेसी अगाडि छन्। एमालेले पछिल्लो पटक सञ्चालन गरेको जनपरिचालन अभियानको क्रममा ३ हजारभन्दा बढी बाटो बिराएका कार्यकर्ता पार्टीमा फर्किएपछि एमाले पंक्ति उत्साहित नहुने कुरै भएन। पार्टी विभाजनले झन् कमजोर एमाओवादी यस क्षेत्रमा चौथोमा छ। यस क्षेत्रमा एमालेबाट लोकप्रिय नेता दीपक कार्की नै उम्मेदवार हुने देखिन्छ। विकल्पका रूपमा युवा नेता हिक्मत कार्की र पहिला भक्तपुरबाट चुनाव लडेका युवराज कार्कीको पनि नाम लिने गरिन्छ। कांग्रेसका रोहित साह, अमृतलाल राजवंशी, अमृत ताजपुरिया, अनिल प्रसाईं र कुमार रेग्मी चर्चामा छन् भने सद्भावनाका दुर्गा राजवंशी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट देवी राजवंशीले दौडधुप गरिरहेका छन्।

क्षेत्र नम्बर ७
झन्डै १ लाखको हाराहारीमा मतदाता भएको यस क्षेत्रमा ३ गाविस र दमक नगरपालिका पर्छ। अघिल्लो पटक एमाले नेता केपी ओलीले १ हजार १ सय ४० मतले माओवादीका विश्वदीप लिङ्देनसँग हार्नु परे पनि यस पटक भने ओलीका पक्षमा अहिलेदेखि नै उभार सुरु भएको छ। ६५ देखि ७० हजारको मतदाता रहेका दमक नगरपालिकाका १९ वडामध्ये १४ मा एमाले अगाडि छ। पञ्चायतकालदेखि नै एमालेको आधारभूमि ठानिने यस क्षेत्रमा त्यसपछिको प्रतिर्स्पर्धी कांग्रेस र राप्रपा छन्। । २० हजार मत रहेको तोपगाछीमा एमालेको स्थिति ७० प्रतिशतभन्दा माथि छ। कांग्रेस र एमाओवादी प्रतिस्पर्धामा छ। १६ हजार मत रहेको लखनपुरमा एमाले प्रतिर्स्पर्धीविहीन जस्तै छ। १० हजारभन्दा बढी मत रहेको धरमपुरमा क्रमशः एमाले, कांग्रेस र एमाओवादी छन्। । जनजातिको प्रभाव रहेका धरमपुर, तोपगाछी र दमक पर्छन्, जहाँ ताप्लेजुङ, पाँचथर, इलाम र भोजपुरलगायतका पहाडी जिल्लाबाट बसाईं सरेका राई र लिम्बूहरूको सघन बसोवास छ। तोपगाछीमा वैद्य माओवादीको स्थिति राम्रै छ भने विगतमा बाटो बिराएका भनिएका ५० प्रतिशतभन्दा बढी कार्यकर्ता एमाले फर्किसकेका छन्। यस क्षेत्रमा एमालेबाट केपी ओलीको विकल्प सोच्ने कुरै भएन। तर, केन्द्रले नाम मागेमा रोमनाथ ओली, देवेन्द्र दाहाल र मेनुका काफ्लेले पठाइदिए हुन्थ्यो भन्ने इच्छा गरेका छन्। कांग्रेसबाट महेन्द्र लिम्बू, सुरेस सुब्बा र शेरबहादुर भट्टराईबीच हानथाप सुरु भइसकेको छ। राप्रपा नेपालको राम्रै प्रभाव रहेको सो क्षेत्रमा राम थापा वा घनेन्द्र सुब्बामध्ये को हुने भन्ने प्रतिस्पर्धा छ।


No comments:

Post a Comment