Pages

तीजको विशेष महत्व;

Wednesday, 4 September 2013

Ekantipur/Nari-Issue:30-22-130 
हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकीले उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई नेपालीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन्। यस दिन अविवाहितले पवित्र मन-बचनले व्रत बस्दा चिताएको वर पाइने विश्वास एकातिर छ भने विवाहितहरूले आफ्ना श्रीमान्को दीर्घायु तथा सुस्वास्थ्यका लागि निराहार व्रत बस्ने चलन छ। त्यस्तै हरितालिका तीजको व्रत सकेपछि मनाइने पञ्चमीको महत्व भने फरक छ। चाहे विवाहित हुन् वा अविवाहित सम्पूर्ण नारीले यो दिन आफ्ना लागि मनाउँछन्। पञ्चमीमा टोकिने ३ सय ६५ वटा दतिवनका डाँठले वर्षभरि जान-अञ्जानमा गरिएका गल्तीबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ। उक्त दिनलाई महिला रजस्वलासँग जोडेर हेरिएको छ। युवतीहरू प्रथम रजस्वलापछि मात्र पञ्चमी पूजामा सरिक हुन्छन् र दतिवन टोक्छन् भने विवाहित महिलाहरू रजस्वलाका बखत छुन नहुने चीज वा देवीदेवतालाई भुलवश छोइएको भए दतिवन टोकेपछि सम्पूर्ण पाप नष्ट हुने कुरामा विश्वास गर्छन्। यद्यपि पछिल्ला दिनहरूमा यसले पनि परिवर्तनको प्रशस्त स्वाद चाखिसकेको छ। आमा-हजुरआमाका पालामा मनाइएका तीजको फ्लेवर मात्र बाँकी रहेको यो अवस्थामा समाजसेवी कमला पोखरेल भन्छिन्-भगवान्का पालामा पार्वतीको तपका कारण महादेव पति प्राप्त भएको कथन अहिलेको समयमा सान्दर्भिक नभए पनि त्यसको आफ्नै महत्व भने अवश्य छ। हरेक समाज र धर्मको आफ्नै संस्कार हुने हुँदा हामीले यसलाई निरन्तरता दिनुपर्छ।

वुमेन्स क्रियसनकी अध्यक्ष मिलु थापाका अनुसार तीज पर्वको परम्परागत महत्व सम्बन्धसँग जोडिएर आएको छ। सम्बन्ध सुधार गर्ने, त्यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो-तीज। पौराणिक कालका महादेव-पार्वतीका कथा हुन् वा हाम्रा हजुरआमाहरूले मनाउने तीजको इतिहास ती सबै सम्बन्धलाई बलियो बनाउने कसीका रूपमा प्रयोग भएका छन्। वर्तमान अवस्थामा पनि तिनको महत्व उत्तिकै रहेको थापाको भनाइ छ। अहिले मनाइने तीजमा समयसँगै परिवर्तन आए पनि ती पौराणिक एवं परम्परागत महत्वका विषयलाई बिर्सन नहुने मिलुको धारणा छ। थापा भन्छिन्-हामीले अहिले जति नै आधुनिक तरिकाले तीज मनाए पनि यसको मुहान त त्यही हो तसर्थ मूल कुरालाई बिर्सनु हुँदैन।

मानवशास्त्री तथा गोरखा फाउन्डेसनकी संस्थापक अध्यक्ष दीक्षा देवकोटाको घरमा ८५ वर्षकी हजुरआमा हुनुहुन्छ। अहिले पनि उनीहरूको परिवारमा मनाइने तीजमा टिपिकल दर पाक्छ। अनदीको लट्टे, तिलको छोप प्रयोग गरिएको करेलाको अचार, झिनाया आदि परिकारको स्वादसँगै पुराना भाका र शैलीका गीत गाउने, पानी नपिई ब्रत बस्ने, पञ्चमीको पूजापछि कर्कलो खाने परम्परागत परिकार एवं संस्कार अझै जीवितै छ-उनीहरूकहाँ। जति पहिलो पुस्तासँगको संगतबाट संस्कार सिकिन्छ त्यति अरूले गरेको देखेर प्राप्त नहुने दीक्षाको भनाइ छ। खाएको दर दाँतमा अड्किन नहुने चलन पनि हजुरआमाले नै सिकाउनुभएको हो। दीक्षा भन्छिन्-पौराणिक कालका तीजसँग जोडिएका कथाहरू काल्पनिक थिए वा यथार्थ यसै भन्न सकिने अवस्था छैन तर पनि हामी तथा हामीभन्दा पछिल्लो पुस्ताले हाम्रो संस्कार एवं परम्परागत धरातललाई बिर्सनु हुँदैन। दीक्षा आफू भने तीज साधारण तरिकाले मनाउँछिन्। व्रत बस्ने, पारिवारिक भेटघाटमा रमाउने क्रममै उनको तीज बित्छ । आफ्नो घरमा अघिल्लो पुस्ताकी हजुरआमा भएकीले पनि उनको घरमा मनाइने परम्परागत शैलीको तीजमा उनी बढी इन्जोय गर्छिन्। दीक्षालाई तडक-भडकपूर्ण आधुनिक तीज मन पर्दैन।

कमलाका अनुसार उहिले नेपाली नारीहरू त्यति आत्मनिर्भर तथा स्वावलम्बी नभएकाले एकदिन भए पनि मीठो-मसिनो ख्वाउन माइती पक्षकाहरू लामो समयदेखि जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौंअघिदेखि त्यसलाई पर्खेर बस्थे। त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे। पुरुषहरू सदियौंदेखि स्वतन्त्र भएकाले उनीहरूका लागि यस्ता विशेष अवसर आवश्यक नभएको कमलाको तर्क छ। एकदिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाच-गान गर्ने पर्वका रूपमा आमनेपाली महिलाले तीजलाई लिने गरेको कमला बताउँछिन्। पारम्परिक विशेषतालाई निरन्तरता दिँदै सोहीअनुरूप व्रत बसेर परिमार्जित एवं परिवर्तित तीज मनाउने पोखरेलले बताइन्।
Read more ...

सिमसारमा डाइनोसर;

Tuesday, 27 August 2013
आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले मोरङको पर्यटकीय क्षेत्र हसिना सिमसारमा बनाइएको डाइनोसरको प्रतिमा । (फोटो – राजेश कुइँकेल) पूर्वेली टाईम्स August - 25 - 2013

 
Read more ...

झापाका ७ वटै निर्वाचन क्षेत्रको चुनावी अवस्था;

Tuesday, 27 August 2013
पूर्वेली टाईम्स   August - 26 - 2013 विष्णु सुव्वा, दमक ।
मेची अञ्चलका १४ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिका प्रभावशाली नेताहरू चुनावी प्रतिस्पर्धा गर्दै छन्। एमाले अध्यक्ष झलनाथ खनाल, केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, कुलबहादुर गुरुङलगायतका नेता यही अञ्चलबाट चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन्। अघिल्लो निर्वाचनमा मेचीका ५ क्षेत्रमा एमाले, ५ क्षेत्रमै माओवादी, ४ क्षेत्रमा कांग्रेस निर्वाचित भएका थिए। हाल मतदाता संख्यामा पनि कमी आएको यस अञ्चलमा तीन पार्टीबीच नै तीव्र प्रतिस्पधा देखिन्छ ।
मेची अञ्चलका ४ जिल्लाका १४ मध्ये झापा जिल्लामै ७ वटा निर्वाचन क्षेत्र रहेका छन् । यसअगाडीको संविधान सभाको चुनावमा एमाले र कांग्रेसले १-१ वटा र बाँकी निर्वाचन क्षेत्रमा माओवादीले कव्जा जमाएपछि यो पटकको चुनावमा त्यस्तो सम्भावना देखिँदैन ।
क्षेत्रगत रूपमा हेर्दा झापामा चुनावी अवस्था यस्तो छ -

क्षेत्र नम्बर १

मेची नगरपालिकासहित ३ गाविस रहेको यस क्षेत्रमा एमाले, कांग्रेस र एमाओवादीबीच तीव्र प्रतिस्पर्धा छ।

झापाको उत्तर पूर्वमा रहेको यस क्षेत्रमा नगरपालिकामा मात्रै ३५ हजार मतदाता छन्। नगरपालिकाका १३ वडामध्येमा एमाले वडा नम्बर १, ४, ५, ९, १०, १२ र १३ मा अगाडि छ। अन्यमा कांग्रेस अगाडि देखिन्छ। १० हजार मत रहेको धाइजनमा एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिन्छ भने ८ हजार मतदाता रहेको शान्तिनगरमा पनि उस्तै छ। २२ हजार आसपास मतदाता रहेको बाहुनडाँगीमा एमाले निक्कै अगाडि छ। धाइजनमा कांग्रेस र एमाओवादी विगतको तुलनामा निकै कमजोर छन् भने शान्तिनगरमा एमालेको स्थिति सुदृढ बन्दै गएको छ। अस्तित्वमा रहेका संघीय लिम्बुवान र संघीय समाजवादीको प्रभाव पनि थोरबहुत छ। अघिल्लो निर्वाचनमा राजमार्गको उत्तरपट्टि माओवादीले जानै नसक्ने स्थिति बनाउँदा पनि माओवादी, कांग्रेस र एमाले तीव्र प्रतिस्पर्धा रहेको थियो। तर, अहिले आन्तरिक एकता मजबुद भएको र १ हजार ५ सयभन्दा बढी अन्य पार्टीका कार्यकर्ता प्रवेश गरेको हुनाले एमाले बलियो शक्ति मानिन्छ। यस क्षेत्रबाट एमालेका रविन कोइराला, विष्णु प्रसाईं, हरिचरण बानियाँ र गोपाल बुढाथोकीका साथै यसअघिका प्रतिस्पर्धी नरेश खरेलको पनि चर्चा छ। कांग्रेसबाट नरेन्द्रविक्रम नेम्वाङ, विश्वप्रकाश शर्मा, राम कट्टेल र उषा गुरुङबीच हानथाप छ भने एमाओवादीबाट बोधराज दाहाल र सौभाग्यको चर्चा छ।


क्षेत्र नम्बर २
करिब ६० हजारको वरिपरि मतदाता रहेको यस क्षेत्रमा ७ ठूला गाविस छन्। यस क्षेत्रमा पनि कांग्रेस, एमाले र एमाओवादीबीच त्रि-पक्षीय प्रतिस्पर्धा छ। २५ हजार मतदाता भएको अनारमनीमा क्रमशः कांग्रेस, एमाले र एमओवादीको स्थिति उस्तै-उस्तै छ। एमाओवादीले सबैभन्दा बलियो मान्ने गाविस पनि यही हो। चारपानेमा क्रमशः एमाले, कांग्रेस र एमाओवादीबीचमै प्रतिस्पर्धा छ भने १२ हजार मतदाता रहेको गरामुनीमा एमाले र कांग्रेसका बीचमा मात्रै प्रतिस्पर्धा छ। ४ हजार ५ सय मत रहेको हल्दिबारी र १० हजारभन्दा बढी मत रहेको चन्द्रगढीमा त्रि-पक्षीय भिडन्त हुने देखिन्छ। दुवागढीमा एमाले थोरै अगाडि भए पनि कांग्रेसले त्यसलाई ज्यामिरगढीबाट पूर्ति गर्ने देखिन्छ। अघिल्लो निर्वाचनमा करिब ५ हजारको मत अन्तरले गौरीशंकर खड्काले कांग्रेसका सुधीरकुमार सिवाकोटीलाई पराजित गरेका थिए। हाल त्यस क्षेत्रमा एमालेका नरेश खरेल, मनकुमार गौतम, एकराज कार्की, पवित्रा निरौला खरेल, रोमणि भट्टराई र लोकबन्धु कन्दङ्वाले इच्छा व्यक्त गरेका छन् भने कांग्रेसबाट सुधीर सिवाकोटी, काशीलाल चौधरी र गोपालकुमार बस्नेतको चर्चा छ। उता, एमाओवादीबाट मृत्यु भएका पूर्वसभासद् गौरीशंकर खड्काकी श्रीमती सीता खड्का, अग्नि आचार्य र राम कार्कीमध्येबाट उठ्ने चर्चा छ।

क्षेत्र नम्बर ३
साढे ५९ हजार मतदाता रहेको यस क्षेत्रमा भद्रपुर नगरपालिकासहित ९ गाविस पर्छन्। जसमा कांग्रेस, एमाले र एमाओवादीबीच तीव्र प्रतिस्पर्धा छ। सबैभन्दा बढी अर्थात् १० हजार ८ सय मतदाता रहेको भद्रपुर नगरपालिकामा कांग्रेस एमालेभन्दा थोरै अगाडि छ। ७ हजार आसपास मतदाता रहेको जलथल, पथरिया र पृथ्वीनगरमा एमाले थोरै अगाडि छ भने महेशपुर, बनियानी, बालुबारी, केतना, बाछामारीमा कांग्रेस अघि छ। पृथ्वीनगर सबैभन्दा बढी मतदाता भएको गाविस हो भने बालुबारी, केतना र बाछामारी ३ हजार ५ सयको आसपासमा मतदाता रहेका गाविस हुन्। करिब ४ हजार मत रहेको घेराबारीमा एमाओवादी, एमाले र कांग्रेस प्रतिस्पर्धी छन्। भद्रपुर नगरपालिका र जलथलमा एमाओवादीको स्थिति पनि राम्रै छ। राप्रपा र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)को मत पनि बराबर जस्तै देखिन्छ। संघीय समाजवादीको थोरै मत पृथ्वीनगरमा भए पनि अन्यमा त्यस्तो प्रभाव छैन। अघिल्लो चुनावमा गृहमन्त्री रहेकै बेला कांग्रेसका कृष्णप्रसाद सिटौला माओवादीका पूर्णप्रसाद राजवंशीसँग करिब साढे दुई हजारको मत अन्तरले पराजित भएका थिए भने एमाले तेस्रो भएको थियो। हाल कांग्रेसबाट सिटौला मात्रै प्रतिर्स्पर्धी छन् भने एमालेबाट पुष्प पोखरेल, वसन्त बानियाँ, जीवन श्रेष्ठ र शुभलक्ष्मी राईको नाम चर्चामा छ। एमाओवादीका पूर्वसभासद् पूर्णप्रसाद राजवंशी गुमनाम जस्तै छन् भने राप्रपा नेपालबाट राजेन्द्र लिङ्देल र फोरम (लोकतान्त्रिक)बाट भारतिन्दुकुमार मल्लिकको नाम चर्चामा छ। एमालेले यस क्षेत्रबाट चुनाव जित्न ग्रामीण क्षेत्रबाट उम्मेद्वार खडा गर्नुपर्ने देखिन्छ।

क्षेत्र नम्बर ४
९४ हजार मतदाता रहेको यस क्षेत्रमा ६ गाविस छन्। यस क्षेत्रको सबैभन्दा धेरै मतदाता भएको सुरुङ्गामा १५ हजार ७८ मतदाता छन्। ११ हजारभन्दा माथि मतदाता रहेको अर्जुनधारा र ७ हजारभन्दा माथि रहेको घैलाडुब्बामा कांग्रेस, एमाओवादी र एमालेबीच तीव्र प्रतिस्पर्धा छ। ९ हजारभन्दा माथि मतदाता रहेको खुदुनाबारीमा एमाले धेरै अगाडि छ भने १४ हजार आसपास रहेका शनिश्चरे र बुधबारेमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा छ। अघिल्लो निर्वाचनमा ३ हजारभन्दा बढीको मत अन्तरमा कांग्रेस नेता चक्र बाँस्तोलालाई माओवादीकी धर्मशिला चापागाईंले पराजित गरेकी थिइन्। दुई क्षेत्रबाट लड्ने भएमा इलाम-१ का अलावा एमाले अध्यक्ष झलनाथ खनालले दोस्रो विकल्पमा यो क्षेत्र राखेको बताइन्छ। मोहन वैद्य नेतृत्वको माओवादी चौथो हैसियतमा छ भने लिम्बुवान परिषद्को प्रभाव सामान्य छ। हाल एमालेबाट प्रेम गिरीको बढी चर्चा छ। तर, त्यस क्षेत्रमा एमालेकै हरि राना, हिरा थापा, मनकुमार गौतम र चिन्तन पाठकले पनि उम्मेदवार बन्न इच्छा देखाएका छन्। कांग्रेसबाट उद्धव थापा मैदानमा छन् भने एमाओवादीमा आफूलाई रक्तकाली भन्दै भोट मागेर जिते पनि चरित्रहीन गतिविधिमा लिप्त भएको खुलेपछि धर्मशिला चापागाईंको विकल्प खोजी भइरहेको बताइन्छ।

क्षेत्र नम्बर ५
७१ हजार १ सय ३६ मतदाता रहेको यस क्षेत्रमा १० गाविस छन्। जनजाति, क्षेत्री तथा बाहुनको मिश्रित बसोवास रहेको यहाँ कांग्रेस, एमाले र एमाओवादीबीच नै तीव्र प्रतिस्पर्धा छ। अघिल्लो निर्वाचनमा कांग्रेसका केशवकुमार बुढाथोकीले करिब १ हजार मत अन्तरले एमाओवादीका हर्कबहादुर खड्कालाई पराजित गरेका थिए। १५ हजार मतदाता रहेको सतासीधाममा त्रि-पक्षीय प्रतिस्पर्धा छ। ८ हजारको आसपास मत रहेको शिवगञ्ज, शरणामती, चकचकीमा क्रमशः कांग्रेस, एमाले र एमाओवादीको प्रभाव छ। ५ हजार आसपास मतदाता रहेका टांगनडुब्बा र कुमरखोदमा कांग्रेस थोरै मतले अगाडि छ भने ६ हजार मतदाता रहेको चकचकी र ५ हजार मतदाता रहेको डाँगीबारीमा एमाले अघि छ। ५ हजार मत रहेको गोलधापमा एमाले र राप्रपा नेपालबीच तीव्र प्रतिस्पर्धा छ भने ९ हजार मत रहेको राजगढमा एमालेभन्दा कांग्रेस अगाडि छ। संघीय समाजवादीको उपस्थिति नभए पनि लिम्बुवान परिषद् र जनमुक्ति पार्टी तथा मधेसी जनअधिकार फोरम नेपाल र फोरम (लोकतान्त्रिक) पनि सक्रिय दलभित्र पर्छन्। यस क्षेत्रमा एमालेबाट एलपी साँवा, खोदनाथ चापागाई र हरि राजबंशी आकांक्षी छन् भने कांग्रेसबाट केशवकुमार बुढाथोकी र देउमान थेवेबीच अस्वस्थ प्रतिस्पर्धा छ। राप्रपा नेपालबाट अहिलेसम्म कोही अघि सरेको छैन भने एमाओवादीबाट झलक दर्लामी उठ्ने बताइन्छ।

क्षेत्र नम्बर ६
करिब ७० हजार आसपासमा मतदाता रहेको यस क्षेत्रमा ९ गाविस पर्छन्। अघिल्लो निर्वाचनमा झापामा अकल्पनीय पराजयको सामना गर्दा पनि यस क्षेत्रमा एमालेका दीपक कार्कीले ३ हजार ८ सय ३० मत अन्तरले कांग्रेस उम्मेदवारका सूर्यनारायण ताजपुरियालाई पराजित गरेका थिए। हाल ६ देखि १२ हजारसम्म मतदाता रहेका गौरादह, महारानीझोडा, जुरोपानी र बैगुनधुरामा एमाले एक्लो प्रतिर्स्पर्धी जस्तै छ। यहाँ ६० देखि ७० प्रतिशत मतदाता एमालेको पक्षमा देखिन्छन्। करिब ६ हजार मतदाता रहेको कोहबरामा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा छ। ४ हजार ५ सय मतदाता रहेको र मधेसीको सघन बसोवास रहेको गौरीगञ्जमा कांग्रेस र सद्भावना पार्टीबीच प्रतिस्पर्धा छ। त्यस्तै, ४ हजार मतदाता रहेको खजुरगाछीमा क्रमशः कांग्रेस, एमाले र सद्भावना प्रतिस्पर्धी अवस्थामा छन्। ४ हजार मतदाता रहेको कोरोबारी र ५ हजार मतदाता रहेको महाभारामा पनि क्रमशः कांग्रेस, एमाले र मधेसी अगाडि छन्। एमालेले पछिल्लो पटक सञ्चालन गरेको जनपरिचालन अभियानको क्रममा ३ हजारभन्दा बढी बाटो बिराएका कार्यकर्ता पार्टीमा फर्किएपछि एमाले पंक्ति उत्साहित नहुने कुरै भएन। पार्टी विभाजनले झन् कमजोर एमाओवादी यस क्षेत्रमा चौथोमा छ। यस क्षेत्रमा एमालेबाट लोकप्रिय नेता दीपक कार्की नै उम्मेदवार हुने देखिन्छ। विकल्पका रूपमा युवा नेता हिक्मत कार्की र पहिला भक्तपुरबाट चुनाव लडेका युवराज कार्कीको पनि नाम लिने गरिन्छ। कांग्रेसका रोहित साह, अमृतलाल राजवंशी, अमृत ताजपुरिया, अनिल प्रसाईं र कुमार रेग्मी चर्चामा छन् भने सद्भावनाका दुर्गा राजवंशी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट देवी राजवंशीले दौडधुप गरिरहेका छन्।

क्षेत्र नम्बर ७
झन्डै १ लाखको हाराहारीमा मतदाता भएको यस क्षेत्रमा ३ गाविस र दमक नगरपालिका पर्छ। अघिल्लो पटक एमाले नेता केपी ओलीले १ हजार १ सय ४० मतले माओवादीका विश्वदीप लिङ्देनसँग हार्नु परे पनि यस पटक भने ओलीका पक्षमा अहिलेदेखि नै उभार सुरु भएको छ। ६५ देखि ७० हजारको मतदाता रहेका दमक नगरपालिकाका १९ वडामध्ये १४ मा एमाले अगाडि छ। पञ्चायतकालदेखि नै एमालेको आधारभूमि ठानिने यस क्षेत्रमा त्यसपछिको प्रतिर्स्पर्धी कांग्रेस र राप्रपा छन्। । २० हजार मत रहेको तोपगाछीमा एमालेको स्थिति ७० प्रतिशतभन्दा माथि छ। कांग्रेस र एमाओवादी प्रतिस्पर्धामा छ। १६ हजार मत रहेको लखनपुरमा एमाले प्रतिर्स्पर्धीविहीन जस्तै छ। १० हजारभन्दा बढी मत रहेको धरमपुरमा क्रमशः एमाले, कांग्रेस र एमाओवादी छन्। । जनजातिको प्रभाव रहेका धरमपुर, तोपगाछी र दमक पर्छन्, जहाँ ताप्लेजुङ, पाँचथर, इलाम र भोजपुरलगायतका पहाडी जिल्लाबाट बसाईं सरेका राई र लिम्बूहरूको सघन बसोवास छ। तोपगाछीमा वैद्य माओवादीको स्थिति राम्रै छ भने विगतमा बाटो बिराएका भनिएका ५० प्रतिशतभन्दा बढी कार्यकर्ता एमाले फर्किसकेका छन्। यस क्षेत्रमा एमालेबाट केपी ओलीको विकल्प सोच्ने कुरै भएन। तर, केन्द्रले नाम मागेमा रोमनाथ ओली, देवेन्द्र दाहाल र मेनुका काफ्लेले पठाइदिए हुन्थ्यो भन्ने इच्छा गरेका छन्। कांग्रेसबाट महेन्द्र लिम्बू, सुरेस सुब्बा र शेरबहादुर भट्टराईबीच हानथाप सुरु भइसकेको छ। राप्रपा नेपालको राम्रै प्रभाव रहेको सो क्षेत्रमा राम थापा वा घनेन्द्र सुब्बामध्ये को हुने भन्ने प्रतिस्पर्धा छ।


Read more ...

मुठभेडतिर गोर्खाल्यान्ड आन्दोलन;

Saturday, 24 August 2013
पर्वत पोर्तेल / ekantipur
काँकडभिट्टा, भाद्र ८ - पश्चिम बंगाल राज्य सरकारद्वारा गोर्खाल्यान्ड टेरेटोरियल एडमनिस्टे्रसन
(जीटीए) का सभासद् तथा गोर्खा जनमुक्ति मोर्चाका 'हेभिवेट' हरूलाई धमाधम पक्राउ गर्न थालिएपछि दार्जिलिङमा जारी छुट्टै राज्य माग गर्दै सुरु आन्दोलन मुठभेड उन्मुख भएको छ । प्रहरीले बुधबार राति मोर्चा सहसचिव तथा जीटीएका सूचना र सांस्कृतिक विभाग प्रमुख विनय तामाङसहित ४० भन्दा बढी नेता/कार्यकर्ता एकै पटक पक्राउ गरेको विरोधमा मोर्चाले शुक्रबारदेखि दार्जिलिङमा दोस्रो पटक अनिश्चितकालीन हडताल घोषणा गरेको छ । गोर्खाल्यान्ड जोइन्ट एक्सन कमिटी नामको सर्वदलीय संयन्त्रले घोषणा गरेको चरणबद्ध आन्दोलन समाप्त हुन नपाउँदै मोर्चाले एकलौटी रूपमा अनिश्चितकालीन हडताल आह्वान गरेको हो । यसअघि मोर्चाले गत १९ साउनदेखि १२ दिन लामो हडताल गरेको थियो । मोर्चा अध्यक्ष विमल गुरुङले सन् २०११ जुलाईमा सिलिगुडीमा भएको मोर्चा, राज्य र केन्द्र सरकारबीचको त्रिपक्षीय सम्झौतामा आन्दोलनकालका मुद्दा फिर्ता लिने सहमति भएको जानकारी दिए । गुरुङले भने, 'तर राज्य सरकार सम्झौता विपरीत गतिविधि गर्दै आएको छ ।' उनको प्रश्न छ, 'सम्झौता विपरीत नेता कार्यकर्ता पक्राउ गरिनु कत्तिको न्यायसंगत हो ?' गोर्खाल्यान्ड समस्या समाधानका लागि केन्द्रसँग वार्ताको मध्यस्थता गरिदिन बंगालका राज्यपाल एमके नारायणनलाई गुरुङले आग्रह गरेका छन् । 'मोर्चा केन्द्रसँग मात्रै वार्तामा बस्छ,' गुरुङले भने, 'राज्यपालले त्यसको सहजीकरण गरिदिनुपर्छ ।' मोर्चाका अनुसार एक महिने आन्दोलनमा पश्चिम बंगाल प्रहरीले करिब साढे ७ सय नेता/कार्यकर्ता पक्राउ गरिसकेको छ । पक्राउ परेका सबैलाई रिहा नगरेसम्म हडताल जारी रहने गुरुङले बताए । यसैबीच जीटीए सभासद तामाङसहितका ५० भन्दा बढी नेता/कार्यकर्ताले शुक्रबारदेखि प्रहरी हिरासतमै आमरण अनशन सुरु गरेका छन् । स्रोतका अनुसार राज्य सरकार मोर्चाका सबै नेतृत्व र सभासद्लाई पक्राउ गर्ने योजनामा छ । प्रहरीले बाँकी नेता र सभासद्को समेत विशेष निगरानी गरिरहेको स्रोतको दाबी छ । राज्य प्रशासनले आन्दोलन दबाउने उद्देश्यका साथ नेता/कार्यकर्ता धरपकड तीव्र बनाएको हो । जीटीएका सबै सभासद् र ठूला नेताहरूलाई पक्रेर जीटीए आफ्नो नियन्त्रणमा लिने मुख्यमन्त्री ममता बेनर्जीको योजना गरेको स्रोतको दाबी छ । 'जीटीएको क्षमता र अधिकार दुवै समाप्त पारेर आफ्नो नियन्त्रणमा लिने ममताको योजना सफल भएमा आन्दोलन दबाउन सहज हुने देखिन्छ,' एक गोर्खाल्यान्ड विश्लेषकले भने । गुरुङको राजीनामापछि अर्को जीटीए प्रमुख नियुक्त गर्न ममताले २ साताअघि नै मोर्चालाई पत्राचार गरेकी थिइन् । तर दार्जिलिङका ८ राजनीतिक दलले जीटीए खारेज गरेर अघि बढ्न मोर्चालाई दबाब दिएपछि मोर्चा धर्मसंकटमा परेको थियो । यसअघि मोर्चाले ८५ वर्षे दलित नेता बिर्खु भुषालको नाम प्रमुखमा सिफारिस गरेको थियो । तर राज्य सरकारबाट नेता/कार्यकर्ता धरपकड तीव्र पारेपछि जीटीए खारेजीको पक्षमा मोर्चा अग्रसर देखिएको छ । 'जीटीए खारेज नहुँदा पनि राज्यको धरपकड जारी छ,' एक मोर्चा नेता भन्छन्, 'बरु ख्ाारेज गरेर अघि बढ्ने योजनामा मोर्चा छ ।' मोर्चाले जीटीए खारेज गरे अध्यक्ष गुरुङ, महासचिव रोशन गिरी, उपाध्यक्ष प्रदीप प्रधान, प्रवक्ता हर्क क्षेत्रीलगायत ठूला नेता पक्राउ पर्ने निश्चित छ । राज्य सरकारले आगामी २ सेप्टेम्बरमा जीटीए सभाको पदपूर्ति गर्ने जनाएको छ । रिक्त भएको १ महिनाभित्र पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।
प्रकाशित मिति: २०७० भाद्र ८
Read more ...

बन्दले झापाको जनजीवन प्रभावित;

Sunday, 18 August 2013
चेतन अधिकारीदमक, भाद्र ३ - पूर्ण समानुपातिक प्रणालीमा संबिधानसभाको निर्बाचन हुनुपर्ने माग गर्दै संघिय गणतान्त्रिक मोर्चाले आह्वान गरेको बन्दका कारण पूर्वको जनजीवन प्रभावित भएको छ । मोर्चाले जातिय पहिचान सहितका संघहरु स्थापनाका लागि दबाब स्वरुप बन्द आहृवान गरिएको जनाएका छ । प्रहरीका अनुसार राजधानी र पश्चिम नेपालबाट आउने रात्रीबसलाई प्रहरीको निगरानीमा गन्तब्यमा पुर्याइएको छ । झापामा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । हड्तालका कारण शैक्षिक संस्थ्ा,कलकारखाना र बजार पनि बन्द छन् । प्रकाशित मिति: २०७० भाद्र ३

Read more ...

पूर्वका सय युवालाई इजरायल जाने अवसर;

Thursday, 15 August 2013
कारोबर सम्बाददाता
मीनकुमार नवोदित– विराटनगर, ७ साउन । कृषिको व्यावसायिकीकरणको कुरा चलिरहेका बेला पूर्वबाट कृषिसम्बन्धी तालिमका लागि १ सय युवाले इजरायल जाने अवसर प्राप्त गरेका छन् । इजरायल कृषिमा विश्वमै सफल मानिन्छ । इजरायल सरकारको सहयोगमा ती युवा कृषिसम्बन्धी तालिमका लागि जान लागेका हुन् ।

उनीहरूले त्यसबापत कुनै खर्च गर्नुपनेै छैन । भिसा, प्लेनभाडासहितको खर्च इजरायल सरकारले नै बेहोर्ने नेपालका लागि इजरायली राजदूत खनान गोडेरले जानकारी दिए । इजराज सरकारको सहयोगमा साना किसान विकास बैंकमार्फत् पूर्वका मोरङ, सुनसरी, झापा र इलामका १ सयजनासहित नेपालबाट २ सय ५ जना बिना लगानी इजरायल जाने मौका पाउने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माका अनुसार कृषि तालिम दिने उद्देश्यले २२ देखि ३० वर्ष उमेरका युवायुवती इजरायल जानेछन् । विभिन्न चरणबाट छनौट भएर आएका युवायुवतीको आइतबारदेखि विराटनगरमा अन्तिम छनौट सुरू गरिएको छ । २ सय १८ जनाबाट १ सयजना छनौट गरिने उनले जानकारी दिए । इजरायलमा उनीहरूले १० महिना कृषिसम्बन्धी सीप सिक्नेछन् । “हामीलाई कुन फल कहिले लगाउने भन्ने विषयमा जानै छैन,” शर्माले भने, “कुन बाली कहिले लगाउने, पानी लगाउने, माटोको तयारी, गोडमेलको तरिकालगायत आधुनिक कृषि प्रविधिबारे तालिम प्राप्त गर्नेछन् ।”

हप्ताको एकदिन तालिम लिनेछन् भने पाँच दिन कृषिसम्बन्धी प्रयोगात्मक अभ्यास गर्नेछन् । त्यसबापत उनीहरूले मासिक १ हजारदेखि १ हजार २ सय अमेरिकी डलरसमेत प्राप्त गर्नेछन् । अन्तिम छनौटका लागि इजराजयबाटै विशेषज्ञ टोली आएको छ ।

प्रमाणपत्र उत्तीर्ण, २२ देखि ३० वर्ष उमेरभित्रको हुनुपर्नेछ । त्यस्तै साना किसानमा आबद्ध बाबुआमाका छोराछोरीले मात्रै जाने अवसर पाउनेछन् । यसअघि धादिङ, मकवानपुर, चितवन र नवलपरासीबाट १ सय ५ जना छनौट भइसकेका छन् । भिसादेखि प्लेन खर्चसमेत नलाग्ने प्रमुख कार्यकारी अधिकृत शर्माले जानकारी दिए । “इजराजयमा तालिम लिएर आएपछि अनिवार्य रूपमा कृषि पेशामा आबद्ध हुनुपर्नेछ,” उनले थपे, “यदि उसको जग्गा कम छ भने छिमेकी र गाउँघरमा कृषिसम्बन्धी सीप सिकाउनुपर्ने छ ।”

सरकारले समेत यसपटकको बजेटमा समेत कृषिलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारकै पहलमा २ सय ५ जना युवा इजरायल जाने अवसर प्राप्त गरेका हुन् । यसैगरी अर्को चरणमा पनि युवालाई इजरायल पठाइने शर्माले जानकारी दिए ।
Read more ...

खोलाले बगाउँदा एकको मृत्यु, चट्याङबाट चार घाइते;

Wednesday, 14 August 2013
पूर्वेली टाईम्स August - 13 - 2013
दमक झापाको राजगढमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । आज विहान ८ बजेतिर स्थानीय अदुवा खोलाले बगाउँदा राजगढ ९ का ४० बर्षीय बीरबल राईको ज्यान गएको हो । जंगलबाट घाँस काटेर फर्कंदै गरेका उनी खोला तर्ने क्रममा बगेका थिए । खोलाले बगाएपछि इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले खोजी गर्ने क्रममा घटनास्थलभन्दा केही तल उनको शव फेला परेको थियो ।
मृतकको शव पोष्टमर्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको र घटनासम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उता आज विहान ६ बजेतिर परेको चट्याङका कारण झापाको चन्द्रगढीमा चारजना घाइते भएका छन् । चन्द्रगढी ४ स्थित सुकुम्वासी बस्तीमा परेको चट्याङबाट स्थानीय ४० बर्षीय सुमी हेमरम, उनका छोराहरू १२ बर्षीय उमेश र २३ बर्षीय सिमलाल तथा १४ बर्षीय भतिज राजन हेमरम घाइते भएका हुन् । सामान्य घाइते उनीहरू मेची अञ्चल अस्पतालमा उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर एउटा कुकुरको भने ज्यान गएको थियो ।
Read more ...