Pages

१८ ठाउँमा मुस्लिमबीचै टक्कर!

Saturday 12 October 2013
अब्दुल्लाह मियाँ



काठमाडौ, आश्विन २७ - लगातार कांग्रेसका मोहम्मद अफताब आलमले जित्दै आएको रौतहट २ मा यो पटक सबैजसो दलले मुसलमान उम्मेदवार खडा गरेका छन् ।

उक्त क्षेत्रमा मुसलमानको मत निर्णायक हुने भएकाले एमालेले पूर्वसभासद अब्दुलकलाम आजादलाई उम्मेदवार बनाएको छ भने, सद्भावना पार्टीले उपाध्यक्ष अब्दुल जब्बारलाई उठाएको छ । जब्बार अघिल्लो चुनावमा सोही क्षेत्रमा फोरम नेपालबाट लडेका थिए ।

सोही क्षेत्रमा फोरम नेपालले गुलाम सर्वर शेख र फोरम लोकतान्त्रिकले मुस्ताक राजालाई उम्मेदवार बनाएको छ । अघिल्लो चुनावमा उक्त क्षेत्रबाट कांग्रेसका अफताबले जितेका थिए । रौतहट २ सहित मुलुकरभर करिब डेढ दर्जन निर्वाचन क्षेत्रमा मुसलमान उम्मेदवारबीच नै टक्कर हुँदैछ । जसअनुसार पर्सा २ मा पनि मुसलमान उम्मेदवारबीच नै भिडन्त हुनेछ ।

उक्त क्षेत्रमा एमाओवादीले अस्पताल व्यवसायी धनाढ्य बसुरुद्दिन अन्सारी, सद्भावनाले फिरोज मन्सुर र फोरम गणतान्त्रिकले महासचिव शशिकपुर मियाँलाई उम्मेदवार बनाएको छ । धेरै मुसलमान उम्मेदवार भएका कारण त्यसको फाइदा भने गैर मुस्लिम उम्मेदवारलाई हुने जानकारहरू बताउँछन् ।
बारा १ मा पनि राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) का डा.कमरुल्लाह अन्सारी र संघीय समाजवादीका मन्जरुल हक अन्सारीबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै, सुनसरी ३ मा ठूला दललेसमेत मुसलमानलाई उम्मेदवार बनाएका कारण त्यसको फाइदा गैरमुस्लिम उम्मेदवारलाई पुग्ने देखिन्छ । एमाओवादीले हैदर अली र कांग्रेसले गोमा पराजुली अन्सारीलाई उम्मेदवार बनाएको छ ।

सुनसरी ४ मा फोरम नेपालका डा.खालिद हुसैन र केही मुसलमान स्वतन्त्र उम्मेदवारबीच र सुनसरी ५ मा पनि मुसलमान उम्मेदवारबीच भिडन्त हुँदैछ । उक्त क्षेत्रमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट अस्पताल व्यवसायी डा.अबुल हुसैन अन्सारी लड्दै छन् भने मुसलमान बाहुल्य क्षेत्र भएकाले राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) ले मोहम्मद तजमुल मन्सुरी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हरबुल मियाँलाई उम्मेदवार बनाएको छ । मुसलमानको भोट बाँडिने भएकाले फाइदा गैरमुस्लिम उम्मेदवारलाई पुग्ने देखिन्छ । मुसलमानको भोटको समर्थनकै कारण अघिल्लो चुनावमा उक्त क्षेत्रबाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका थिए । अहिले पनि यादव सोही क्षेत्रमा उम्मेदवार छन् ।

यस्तैगरी, सप्तरी २ मा राप्रपाका मो.सकिल अली मियाँसहित केही स्वतन्त्र मुसलमान र सप्तरी ६ मा सद्भावनाका जस्मुल खाँ र केही स्वतन्त्र मुसलमानबीच प्रतिस्पर्धा हुँदैछ । संघीय समाजवादीका उपाध्यक्ष मोहम्मद रिजवान अन्सारी लड्न लागेको सर्लाही २ मा पनि मधेसी दलले मुसलमान उम्मेदवार खडा गरेका छन् । सोही क्षेत्रमा सद्भावनाले अफजल हुसैन (बच्चाबाबु) लाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा अघिल्लो चुनावमा एमाले उम्मेदवार भई अन्सारीले जितेका थिए । अन्सारीले नै उम्मेदवारी दिएको सर्लाही ४ मा राप्रपा नेपालका इस्लाम मन्सुरीले पनि उम्मेदवारी दिएकाले मुसलमानको भोट बाँडिने भएको छ ।   महोत्तरी ४ र ५ मा पनि मुसलमान उम्मेदवारबीच टक्कर छ ।

महोत्तरी ४ मा एमालेका इलियास अन्सारी र संघीय समाजवादीका मो.युनुस अन्सारी तथा ५ मा एमाओवादीका रजी हैदर र संघीय समाजवादीका मो.नाजीर अन्सारीबीच प्रतिस्पर्धा हुनेछ । अघिल्लो चुनावमा उक्त क्षेत्रबाट तमलोपाका उम्मेदवार रामकुमार शर्माले जितेर पछि एमाओवादीमा गएका थिए ।

यस्तै, नवलपरासी ५ मा पनि मुसलमान उम्मेदवार खडा छन् । उक्त क्षेत्रमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट हैदरअली मोमिन र तराई मधेस सद्भावना पार्टी (तमसपा) का उपाध्यक्ष अलाउद्दिन अन्सारीबीच भिडन्त हुँदैछ । मुसलमान बाहुल्य उक्त क्षेत्रमा भोट दुईतिर बाँडिने भएकाले फाइदा गैरमुस्लिमलाई पुग्ने देखिन्छ । अघिल्लो चुनावमा उक्त क्षेत्रबाट फोरम नेपालका उम्मदेवार रामबच्चन अहिर यादवले जितेका थिए । अहिले उनी फोरम लोकतान्त्रिकका उम्मेदवार छन् ।

रूपन्देही १ मा पनि कांग्रेसका जिल्ला सभापतिसमेत रहेका अब्दुल रज्जाक र फोरम गणतान्त्रिकका सल्लाहकार अब्दुल कैयुमबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, रूपन्देही ६ मा पनि फोरम नेपालका बसिरुद्दिन खाँ र राप्रपाका अहमद अलीबीच भिडन्त हुँदैछ ।  

अघिल्लो चुनावमा उक्त क्षेत्रमा फोरम नेपालका ओमप्रकाश यादवले जितेका थिए । यस्तै, रूपन्देही ७ मा मुसलमान उम्मेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ । एमाओवादीले मकसुद अली, फोरम नेपालले फकरुद्दीन खाँ र फोरम लोकतान्त्रिकले मुहम्मद वकिल मुसलमानलाई उम्मेदवार बनाएको छ । अघिल्लो चुनावमा फोरम नेपालबाट वकिलले चुनाव जितेका थिए । अली अघिल्लो चुनावमा पनि माओवादीबाट सोही क्षेत्रमा लडेका थिए ।

कपिलवस्तु ५ मा पनि धेरैजसोले मुसलमान उम्मेदवार खडा गरेकाले उनीहरूबीच नै टक्कर हुने देखिन्छ । उक्त क्षेत्रमा एमाओवादीका जावेद खान, सद्भावनाका युवा मिर्जा अरसद बेग, रामसपाका मोहम्मद मुस्तफा र राप्रपा नेपालका इजहार खानबीच भिडन्त हुनेछ । उक्त क्षेत्रमा मुसलमानको भोट धेरैतिर बाँडिने भएकाले त्यसको फाइदा कांग्रेसका वीरेन्द्रप्रसाद कनौडिया वा अघिल्लो पटक जितेका फोरम नेपालका अभिशेषप्रताव शाहलाई हुने जानकारहरूको बुझाइ छ ।

यस्तै बाँके २ मा पनि फोरम नेपालका मोहम्मद इस्तियाक राई र राप्रपाका इश्रतअली मुकेरीबीच टक्कर हुँदैछ । अघिल्लो चुनावमा त्यहाँ फोरम नेपालका राईले जितेका थिए ।
प्रकाशित मिति: २०७० आश्विन २७ / EKantipur

No comments:

Post a Comment