Pages

हिजो कारबाही, आज सहिद दुई माओवादी पार्टीबीच सहिद घोषणा गर्ने होडबाजी

Thursday, 20 June 2013
काठमाडौ, असार ६ - पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको एकीकृत नेकपा माओवादी र गत वर्ष उसबाट विभाजित मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीबीच यतिबेला रोचक तर अदृश्य होडबाजी चलिरहेको छ। त्यो हो, सशस्त्र विद्रोहका क्रममा आफैँबाट मारिएका नेता-कार्यकर्तालाई सुटुक्क सहिद घोषणा गरेर तिनका परिवारको समर्थन हासिल गर्ने प्रतिस्पर्धा। पार्टी कारबाहीमा परेर 'श्रम कैद' भोग्दै गरेका तत्कालीन पोलिटब्युरो सदस्य तथा पूर्वाञ्चल ब्युरो इन्चार्ज यानप्रसाद गौतम 'आलोक'लाई पार्टी विभाजनलगत्तै नेकपा-माओवादीले सहिद घोषणा गरेपछि एमाओवादीले पार्टीकै निर्णयबाट हत्या गरिएका तत्कालीन सोलु-ओखलढुंगा सचिवालय सदस्य रमेश ढुंगेललाई सहिद घोषणा गर्ने प्रक्रिया सुरु गरेको छ। माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार सो पार्टीले एमाओवादीबाट विभाजनलगत्तै गत असारमा बसेको पहिलो केन्द्रीय समितिको बैठकले आलोकलाई सहिद घोषणा गरेको थियो। वैद्य माओवादीले गौतमलाई सहिद घोषणा गरेपछि एमाओवादी नेतृत्वमाथि उनको आदेशमा मारिएका ढुंगेलको हत्याको सम्बन्धमा पार्टीले छानबिन गर्नुपर्ने र निर्दोष पाइए सहिद घोषणा गर्नुपर्ने दबाब परिवारका सदस्य र रामेछापको स्थानीय पार्टी कमिटीबाट पर्न थाल्यो। पार्टी नेतृत्वले हेटौँडामा सम्पन्न सातौँ महाधिवेशनपछि गत चैतमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट विश्वभक्त दुलालको संयोजकत्वमा ढुंगेलको हत्या छानबिन कार्यदल गठन गरेको छ। दुलालका अनुसार कार्यदल यतिबेला प्रतिवेदन तयारीको अन्तिम चरणमा छ। दुलाल कार्यदलले नेकपा-माओवादीले सहिद घोषणा गरेका गौतमले ढुंगेलमाथि लगाएको आरोप पुष्टि नभएको प्रतिवेदन दिएमा ढुंगेललाई सहिद घोषणा गर्ने पक्षमा अध्यक्ष प्रचण्ड देखिएका छन्। ढुंगेल हत्या प्रकरण 'श्रम कैद'मा रहेका गौतम जेठ ०५९ मा रोल्पामा सैनिक कारबाहीमा मारएिका थिए। उनको अवनतिको क्रम ढुंगेलको हत्यासँगै सुरु भएको थियो। ०५७ मा पार्टी पोलिटब्युरो र पूर्वाञ्चल ब्युरो इन्चार्ज मात्र होइन, पार्टीको साधारण सदस्यबाट निष्कासित हुनुअघि गौतम पार्टीभित्रै निकै शक्तिशाली नेता मानिन्थे। पार्टीको मुख्य प्रभाव क्षेत्र मानिएका पश्चिमी ब्युरो अन्तर्गतका रोल्पा-रुकुममा प्रहरी चौकीमाथि आक्रमण हुन नसकेका बेला उनले आफ्नो जिम्मेवारी अन्तर्गतको रामेछापको बेथानस्थित प्रहरी चौकीमा १९ पुस ०५३ मा सफल आक्रमण गरेपछि पार्टीभित्र उनको शक्ति अरू बढ्न पुग्यो। त्यस आक्रमणका फौजी कमान्डर थिए, उनकै सहोदर भाइ तीर्थ गौतम। सफल आक्रमणको फौजी कमान्ड गरे पनि तीर्थले आक्रमणमै ज्यान गुमाएका थिए। त्यसपछि पार्टी नेतृत्व पंक्तिका लागि गौतम यति पि्रय ठहरिए कि नेतृत्वले पूर्वी क्षेत्रका सम्बन्धमा उनीबाहेकका नेता-कार्यकर्ताको कुरा नै सुन्न छाड्यो। यही स्थितिको फाइदा उठाउँदै उनी आफूप्रति असहमति राख्ने नेता र कार्यकर्ताविरुद्ध उत्रिए। उनीसँग विमति राखेका फौजी कमान्डर महेन्द्र श्रेष्ठ (सिन्धुली)लाई जानाजान ओखलढुंगा पठाइयो। श्रेष्ठ भारतको 'पिपुल्स वार ग्रुप'बाट तालिम लिएर आएका कमान्डर थिए। यौन कमजोरीको अभियोग खेपिरहेका उनलाई पार्टीको न्यून प्रभाव रहेको ओखलढुंगा पठाएर गौतमले जानाजान पन्छाउन खोजेको बताउँछन् जानकारहरू। ओखलढुंगा पुगेको केही समयमै उनी प्रहरीबाट मारिए। यसै क्रममा ०५६ साउनमा माओवादीको सोलु-ओखलढुंगा सेक्रेटरी रहेका दीनानाथ गौतम काठमाडौँ आए। सोलु-ओखलढुंगाकै पार्टी सचिवालय सदस्य रहेका ढुंगेल पनि पार्टीबाट स्वीकृति लिएर काठमाडौँ आइपुगे। एमाओवादी कार्यकर्तासमेत रहेका ढुंगेलका भाइ विदुरका अनुसार माओवादीमा लागेबापत बेथान आक्रमणपछि जेल जीवन बिताएर रमेशका जेठा दाजु कमल ढुंगेललाई काठमाडौँमा भेट्ने र पार्टी काममा खटाउने योजना अनुसार रमेश कार्यक्षेत्रबाट काठमाडौँ आइपुगेका थिए। भन्छन्, "तर, पार्टीका नेताविरुद्ध सुराकी गरेको भन्दै गौतमको निर्देशनमा उहाँलाई कब्जामा लिएर हत्या गरियो।" १९ साउन ०५६ मा काठमाडौँको डल्लुबाट पक्राउ परेका सोलु-ओखलढुंगा इन्चार्ज दीनानाथ गौतमको गिरफ्तारीमा ढुंगेलको हात रहेको अभियोग लगाइएको थियो। अहिले एमाओवादीको काभ्रे इन्चार्ज रहेका दीनानाथ गौतम भन्छन्, "रमेशका कारण म पक्राउ परेको भन्ने ठोस आधार अहिले पनि पार्टीले प्राप्त गर्न सकेको छैन। त्यसैले उनको हत्या गरिनु गलत थियो।" प्रतिशोधको घोषणा ! पार्टी नेतृत्वबाट अत्यधिक विश्वास गरएिका यानप्रसाद गौतमले अर्का पार्टी कार्यकर्ता पुस्कर गौतमलाई पनि कब्जामा लिएर सफाया गर्ने निर्देशन दिएपछि भागेर काठमाडौँ आएका पुस्करले ढुंगेलको हत्या गौतमको निर्देशनमा भएको सार्वजनिक गरिदिए, एक पत्रिकालाई दिएको अन्तर्वार्तामार्फत। यसले माओवादी पंक्तिभित्र हल्लीखल्ली मच्चियो। गौतमले 'रमेशले दीनानाथको पक्राउ गराएको पुष्टि भएकाले उनको सफाया गरिएको' भन्दै नेतृत्वलाई सहमत गराइसकेका थिए। गौतमका गतिविधिबारे प्रश्न उठेपछि अन्ततः उनी पनि पार्टी छानबिनको दायरामा तानिए। अनुसन्धानबाट उनले आफ्ना विरोधीहरूको हत्यासम्म गरेको खुलासा भयो। अनुसन्धानपछि जेठ ०५७ मा बसेको माओवादी केन्द्रीय समितिको बैठकले आलोकका गल्ती-कमजोरीको समीक्षा गर्दै 'आलोक प्रवृत्ति' नै भनेर किटान गर्‍यो। गौतममा दर्जनजति विचलनहरू देखिएको ठहर गर्दै माओवादीले उनलाई 'श्रम शिविरमार्फत पुनः संस्कार गराउने' निर्णयका साथ पूर्वी क्षेत्रबाट रोल्पा-रुकुम पठायो। यसरी एक समय पार्टीभित्र झन्डै झन्डै प्रचण्डजत्तिकै शक्तिशाली नेता गौतम पार्टीकै कैदी बन्न पुगे। उनी श्रम कैदमै रहेका बेला मुलुकमा संकटकाल लाग्यो। यसै क्रममा माओवादीले २४ जेठ ०५९ मा रोल्पाको गाम लडाकू शिविरमाथि आक्रमण गर्‍यो। त्यस बेला गौतम गामवरपरकै गाउँमा 'श्रम कैद'मा थिए। आक्रमणपछि माओवादीको खोजीमा गाउँ पसेको सेनाले सानो माओवादी सैन्य टुकडीको साथ रहेका आलोकलाई समेत भेट्यो। र, उनी मारिए। माओवादीले गौतमलाई सहिद घोषणा गरेन। स्रोतका अनुसार वैद्य पक्षले पनि उनलाई सहिद घोषणा गर्न माग गरेको थिएन। तर, अध्यक्ष प्रचण्डले गरेको कारबाहीका कारण गौतमको अस्त भएकाले उनको परिवार आक्रोशित थियो। उनका आफन्त दिनेश शर्मा वैद्य माओवादीको पोलिटब्युरो सदस्य छन्, जो संकटकालअगावै प्रहरीद्वारा पक्राउ परेर बेपत्ता बनाइएकी आलोककी बहिनी कमला शर्माका श्रीमान् हुन्। यही कारण पनि विभाजित भएलगत्तै चाहिँ वैद्य पक्षले गौतमलाई सहिद घोषणा गरिदियो। माओवादी प्रवक्ता भुसाल भने राज्य पक्षबाट मारिएकाले पार्टी फुटेलगत्तै उनलाई सहिद घोषणा गरिएको बताउँछिन्। माओवादीकै पोलिटब्युरो सदस्य दिनेश शर्मा आलोकबाट कमजोरी भए पनि पार्टी नेतृत्वले पूर्वाग्रह साँधेर लामो समय श्रमकैदमा राखेको र यही कारण आलोक मारिएको बताउँछन्। एकातिर सैनिक कारबाहीमा मारएिका गौतमबारे माओवादीले मौनता साँध्यो भने अर्कोतिर उनैका कारण मारिएका ढुंगेलको हत्या जायज थियो वा नाजायज भन्ने विषयमा नेतृत्वले कहिल्यै खोजीनितीको प्रयास गरेन। जबकि, ढुंगेलको हत्या गौतमको सनकका आधारमा भएको सार्वजनिक भएपछि छानबिन गरिएको थियो। माओवादीप्रति नै प्रतिबद्ध ढुंगेलको परिवारले चाहिँ उनको कुनै गल्ती नभएकाले पार्टीले उनलाई सफाइ दिएर सहिद घोषणा गर्नुपर्ने माग हत्या सार्वजनिक भएलगत्तै गर्दै आएको थियो। वैद्य माओवादीबाट गौतमलाई सहिद घोषणा गरेको चाल पाएपछि भाइ विदुरले गत साउनमा अध्यक्ष प्रचण्डलाई भेटे। सो भेटमा उनले आफ्ना दाइका बारेमा छानबिन गरी उनले साँच्चिकै गल्ती गरेका भए गद्दार घोषणा गर्न र आलोकको सनकका आधारमा मारिएका भए सहिद घोषणा गर्न माग गरेका थिए। विदुर भन्छन्, "बल्ल पार्टीले छानबिनका लागि कार्यदल बनाएको छ। दाजुको हत्या भइसके पनि अब पार्टीले उहाँमाथि न्याय गर्ने आशा छ।" ढुंगेलको हत्या सम्बन्धमा एमाओवादीले गठन गरेको कार्यदलका संयोजक दुलालचाहिँ उनलाई सहिद घोषणा गर्ने वा नगर्ने भन्नेबारेमा अहिल्यै निक्र्यौल गर्न नसकिने बताउँछन्। गौतमलाई साथ दिनेमध्ये कतिपय अहिले पनि एमाओवादीमै रहेकाले दुलाल कार्यदललाई ढुंगेललाई सहिद घोषणा गर्ने गरी सिफारसि गर्न कठिन भइरहेको छ। स्रोतका अनुसार आफूलाई समेत गुमराहमा पारेर गौतमले ढुंगेलको हत्या गरेकाले प्रचण्ड उनलाई सहिद घोषणा गर्नुपर्ने परिवारको मागमा सहमत छन्। गत साल एमाओवादी विभाजित भएपछि दुई माओवादीबीच निकै ठूलो द्वन्द्व, मुठभेड र आरोप-प्रत्यारोप हुने अनुमान गरिएको थियो। तर, अनुमान गरिएजस्तो द्वन्द्व भएन। होस् पनि कसरी ! जब उनीहरू एकअर्काबीचको रसि साँध्ने माध्यम आफैँबीचको द्वन्द्वका कारण मारिएका नेता-कार्यकर्तालाई सहिद घोषणा गर्न प्रतिस्पर्धा गर्दै छन्। © नेपाल साप्ताहिक

No comments:

Post a Comment