Pages

नेपालकी छोरी लंकाकी बुहारी;

Thursday 25 July 2013
  • दुई देशबीच संस्कृति र संस्कारका सेतु 
कोलम्बो, भेषभूषा र भाषा फरक। खान्की फरक। भूगोल फरक। न त सीधा हवाई सम्पर्क नै। यतिका दूरी र असमानता हुँदाहुँदै पनि केही नेपाली चेलीले बुहारीको भूमिकामा श्रीलंकाली परिवारको मन रिझाएकै छन्। राजधानी कोलम्बो, क्यान्डी र मातराका करबि एक दर्जन परिवारमा सम्बन्ध गाँसेका नेपाली चेलीहरूले दुई देशको सम्बन्धलाई नातासाइनोकै तहमा लैजाने श्रेय पनि पाएका छन्।

कलंकी, काठमाडौँकी अञ्जु पाण्डेका ठूला बुबा र ससुरा संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्च आयोगका सहकर्मी रहेछन्। उनीहरूबीचको मित्रताले कालान्तरमा कलंकी र कोलम्बोबीच सेतुको काम गर्‍यो। हाल कोलम्बोस्थित इन्भेस्टमेन्ट बैंकमा रसिर्च प्रमुख रहेका पति पुरासिसी जिनादासासँग उनको सुरुआती चिनजान अनलाइनमार्फत भएको हो। उनका ठूला बुबा र ससुराबीचको घनिष्टताले उनलाई यो अवसर जुराइदिएको थियो। भन्छिन्, "पछि त परिवारलाई भेट्न श्रीलंका नै आएँ, बिहेअघि। त्यो पनि दुईपटक।"

जिनादासासमेत बिहेअघि नै तीनपटक नेपाल पुगिसकेका रहेछन्। खुला र आधुनिक भएका कारण अञ्जुको परिवारका लागि विदेशी ज्वाइँ आकाशै खस्ने कुरा थिएन। अञ्जुकी दिदीको समेत विदेशीसँगै बिहे भएकाले पनि जिनादासा पाण्डे परिवारका लागि पहिलो विदेशी सदस्य थिएनन्। श्रीलंकासमेत घुमेको र पारिवारिक घनिष्टताका कारण अञ्जुलाई सिंहाली परिवारमा घुलमिल हुन पनि खासै समस्या भएन। भन्छिन्, "संस्कृति पनि मिल्ने र नेपालीलाई मन पराउने रहेछन्। सुरुका दिनमा भाषाका कारण थोरै समस्या भने पर्‍यो।"

पहिलेदेखिकै सम्बन्ध भएका कारण दुवै परिवारले बिहेलाई भव्य बनाउन केही कसर बाँकी राखेनन्। नेपालमा नेपाली संस्कृति अनुसार र फेरि श्रीलंकामा सिंहाली रीतिरिवाज अनुसार विवाह भयो उनीहरूको। कुनै सुखसयलबाट वञ्चित नरहे पनि काठमाडौँको मौसम र आफन्त तथा साथीभाइको अभाव भने अञ्जुलाई खट्किरहने कुरा हो। भन्छिन्, "यहाँ श्रीमान्, घर र साथीभाइबाहेक माइती जाने भन्ने नै हुँदैन, त्यही कुराचाहिँ मिस गर्छु।"

अञ्जुजस्तै पात्र हुन्, अनिता परियार। आठ वर्षअघि एउटा कार्यक्रममा भाग लिन कोलम्बो पुगेकी उनलाई यहाँको विकास र प्राकृतिक सौन्दर्यले मात्र होइन, एक श्रीलंकाली युवकले पनि मुग्ध पारे। कार्यक्रमकै बेला आफ्ना सिनियरमार्फत हँसिला तन्नेरी एमर्डसँग अनिताको परचिय भयो र त्यही भेट नै उनको जीवनलाई नयाँ मोड दिने आधार बन्यो। अनि, त्यसको केही समयभित्रै उनी कोलम्बोस्थित सिंहाली भाषी क्याथोलिक परिवारमा बुहारी भएर भित्रिन्। अनिता भन्छिन्, "उहाँलाई पहिलोपटक भेट्दा नै श्रीलंकामै बस्छु होला जस्तो लागेको थियो। विशेष गरी उहाँको शान्त स्वभाव

मन पर्‍यो।"

भाषा नमिल्ने र माइतीघर आउजाउ टाढा भए पनि अनिता श्रीलंकन पतिसँगको दाम्पत्य जीवनबाट पूर्ण रूपमा सन्तुष्ट छिन्। विशेष गरी घरभित्र पति र अन्य सदस्यबाट पाउने सम्मानले उनलाई माइतीघरको अभाव महसुस भएको छैन। अफिसबाट फर्केर पतिले घरधन्दामा सघाउने श्रीलंकाली संस्कारबाट त उनी झनै दंग छिन्। भन्छिन्, "म आफ्ना भाइहरूलाई पनि यहाँका राम्रा संस्कार सिक्न भन्छु।" परिवारका सदस्यबीचको आत्मीयता र मेलमिलापका पछाडि शिक्षाको भूमिका रहेको अनिताको बुझाइ छ। क्रिस्चियन परिवारमा भित्रिए पनि अनिताले मन्दिरको पूजापाठ छाडेकी छैनन्, परिवारले पनि त्यसलाई सहज रूपमै लिएको छ।

बुद्ध जन्मेको मुलुकको नागरकि भएका कारण श्रीलंकाले कहिल्यै पराइ नठानेको उनको सुखद अनुभव छ। करबि एक दशकको संगतले होला, एमर्ड पनि नेपाली भाषा बुझ्ने भइसकेका छन्। नेपाली चेलीलाई श्रीमतीका रूपमा पाउँदा उनी पनि कम दंग छैनन्। फरक मुलुक र संस्कारमा हुर्केकीलाई घर भित्र्याउन गाह्रो भएन? एमर्डको जवाफ छ, "खासै गाह्रो भएन किनभने श्रीलंकाली समाज निकै खुला छ।"

साढे पाँच वर्षीया छोरी र साढे तीन वर्षीय छोराको लालनपालनमा व्यस्त अनिता गएको वैशाखमै माइती देश गएकी रहिछन्। भनेको बेला आउन-जान नमिले पनि फेसबुकजस्ता इन्टरनेटका सामाजिक सञ्जालले माइती देश र त्यहाँका पि्रयजनसँगको सम्बन्ध कायम राखेको उनको अनुभव छ। भन्छिन्, "मेरा लागि फेसबुक कार्यालय नै हो भन्दा हुन्छ।"

त्यसबाहेक कोलम्बोस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा पनि उनको सक्रिय सहभागिता रहने गरेको छ। महिला र विशेष गरी आमाप्रति श्रीलंकाली समाजले देखाउने आदरभाव र सम्मानबाट नेपालीले पनि प्रेरणा लिनुपर्ने अनिताको भनाइ छ। श्रीलंकाको धार्मिक प्रवृत्तिप्रति भने अनिता खुसी देखिन्नन्, "जहाँ जसले पनि धर्मकै कुरा सोध्ने, एक किसिमको प्रतिस्पर्धा छ यहाँ।"

श्रीलंकालाई घर बनाएकी सोलुखुम्बुकी मिङ्मा शेर्पाको कथा पनि कम रोचक छैन। प्रायः विदेशीहरू हिमाली जिल्ला सोलुखुम्बुमा पाइला टेक्नासाथ आँखाका सामुन्ने उभिने हिमशृंखलाको दृश्यावलोकन गर्न पुग्छन्। तर, दुई वर्षअघि श्रीलंकाको सुन्दर नगरी क्यान्डीबाट सिंहाली भाषी जोयसा परिवार पर्यटककै हैसियतमा तर अर्कै उद्देश्यले त्यहाँ पुगेछ, एक्ला छोरा इन्द्रजीका लागि सल्लेरीकी मिङ्मा शेर्पाको हात माग्न।

इन्द्रजी र मिङ्माको चिनजान भारतको पोण्डीचेरीमा एउटै विश्वविद्यालयमा पढ्दै गर्दा भएको थियो। त्यसो त इन्द्रजी उनीभन्दा सिनियर थिए तर दुवैको विषय इन्टरनेसनल स्टडिज नै थियो। सम्बन्ध प्रगाढ बनेपछि उनीहरू दुई मुलुकको भूगोल नाघेरै भए पनि विवाहको निर्णयमा पुगेछन्। आफ्नो निर्णयमा बुबाआमालाई मनाउन इन्द्रजीलाई खासै गाह्रो भएन । किनभने, बुबा विश्वविद्यालयका प्रोफेसर र आमा शिक्षिका थिए।

शेर्पा समुदायको आफ्नै चलन छ। प्रायः अर्को जातमा बिहे गरँिदैन पनि। तर, कुरो अघि बढ्दै गएपछि छोरीको कुरा काट्नै हम्मे। केही नलागेपछि मिङ्माका अभिभावकले अन्तिम सर्त तेस्र्याएछन्, केटोचाहिँ हेर्नैपर्छ। सम्भावित ससुरालीकै निम्तोमा इन्द्रजी बुबाआमासहित सल्लेरी पुगे। हँसिली मिङ्मालाई रिझाउने इन्द्रजीको शीलस्वभावबाट शेर्पा परिवार प्रभावित भयो। बिहेको कुरो छिनियो पनि। गत वर्ष बिहेका लागि मिङ्माका बुबाआमा, दाजु र नजिकका आफन्त श्रीलंका पुगे। बिहे सिंहाली परम्परा अनुसार भए पनि घर भित्रिँदाचाहिँ शेर्पा पोसाकमै थिइन्मिङ्मा । भन्छिन्, "गजबको सांस्कृतिक आदानप्रदान भयो हाम्रो विवाहमा।"

त्यसो त मिङ्माको मनमा संस्कृति, भाषा, मुलुक सबै फरक, के कस्तो हुने हो भन्नेजस्ता आशंका नपलाएका होइनन्। भन्छिन्, "श्रीमान् ठीक भएपछि सबै सहज हुँदो रहेछ।" नेपालमै भए पनि माइतीघर त छाड्नैपथ्र्यो भनेर चित्त बुझाएको मिङ्मा बताउँछिन्। इन्द्रजी भने श्रीलंकामा अन्तरजातीय विवाहलाई सामान्य रूपमा लिइने भएकाले मिङ्माका बारेमा अभिभावकलाई बताउन खासै असहज नभएको सुनाउँछन्। भन्छन्, "सल्लेरी गएर आएपछि त झन् ढुक्क भइयो, साह्रै आत्मीय। फेर िनेपाली खानपान र संस्कृतिसँग त म कलेज पढ्दा नै नजिक भइसकेको थिएँ।"

कतिसम्म भने मिङ्मासँग चिनजान हुँदाताका नै आफू नेपाली बुझ्न र अलिअलि बोल्न सक्ने भइसकेको इन्द्रजी सम्झन्छन्। अहिले त जोयसा परिवारमा एउटा सदस्य पनि थपिइसकेको छ। नेपालमा रहेको मिङ्माको माइती परिवारलाई श्रीलंका जान सहज छैन। त्यसैले उनीहरूले इन्टरनेटको सहायताबाटै नातिनीको मुख हेरसिकेका छन्। त्यसमाथि नातिनीको अनुहार शेर्पा परिवारको गोता गएपछि त झन् मिङ्माका अभिभावकको खुसीको सीमा छैन। नाम के राख्ने भन्नेमा चाहिँ छलफल चलिरहेको छ, शेर्पाबाट राख्ने कि श्रीलंकाली? तर, श्रीलंकामै बस्ने भएपछि यहीँको नाम राख्नुपर्ने मिङ्माको तर्क छ भने उता इन्द्रजीलाई चाहिँ सासूको ल्हाक्पा नाम निकै मन परेको रहेछ र त्यही राख्न सुझाएका छन्।

मिङ्मा र इन्द्रजीको विवाहले दुई परिवारलाई मात्र जोडेको छैन, भिन्न संस्कृति र संस्कारलाई पनि एकापसमा मिसिने अवसर दिएको छ। अचेल मिङ्मा श्रीलंकाली परिकार सहजै बनाउँछिन् भने उनकी सासू पनि नेपाली खाना बनाउन पोख्त भइसकेकी छन्। अझ मिङ्माले बनाएको मःम त परिवारकै पि्रय भोजन बनिसकेको छ। इन्द्रजी नेपाल आएका बेला पि्रय खान्की भनेकै मःम र राँगाको सुकुटी हो रे! त्यही भएर होला काठमाडौँबाट श्रीलंका आउने हरेकसँग जोयसा परिवारले मगाउने कोसेलीको पहिलो रोजाइमै सुकुटी पर्छ। काठमाडौँका स-साना गल्ली र परिकारहरूसँग पनि साक्षात्कार छन् इन्द्रजी। भन्छन्, "न्युरोडको सोडा त अति मन पर्छ।" नेपालको गीत/संगीत, साहित्य, राजनीतिक घटनाक्रमलाई उनी नजिकबाट नियालिरहेका हुन्छन्। अरुण थापा, नारायण गोपाल, नेपथ्य, १९७४ एडीका गीतहरू गुनगुनाउन पनि भ्याउँछन्। मञ्जुश्री थापा र सम्राट उपाध्यायका पुस्तकहरू त उनी खोजीखोजी पढ्छन् । नेपालका बारेमा ताजा जानकारी राख्न अनलाइन पोर्टलहरूसमेत पछ्याउन भ्याउँछन्।

लेखनाथ, पोखराकी शोभा कोइराला त्यस्तै अर्की नेपाली चेली हुन्, जो श्रीलंकाको मातरामा घरजम गरेर बसेकी छन्। अब त उनको सिंहाली लबज सुन्दा नेपाली भनेर विश्वास गर्नै कठिन पर्छ। दुई दशकअघिको कुरा हो, श्रीलंकाली नागरकि डब्लूपीडी किथ्री संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)का कर्मचारी थिए, पोखरामा। शोभा पनि यूएनडीपीको सहयोगमा सञ्चालित शिशु स्याहार केन्द्रमा पढाउँथिन्। त्यसै क्रममा उनीहरूबीच चिनजान भयो र छिट्टै त्यो चिनापर्ची विवाहमा परिणत भयो।

सुरुआती दिनमा शोभालाई किथ्रीको पहिले नै बिहे भइसकेको थियो कि भन्ने शंकाले सताउँदो रहेछ। तर, श्रीलंका आएपछि सिंहाली परिवारमा दोस्रो विवाह वर्जित रहेको पत्तो पाएपछि भने उनी ढुक्क भइछन्। श्रीलंकाको अनुभव सुनाउँछिन् शोभा, "सुरुमा त मानिसको छालाको रंग देखेरै रुन मन लाग्थ्यो, एक किसिमले डरै लाग्थ्यो। तर, छाला कालो भए पनि यिनीहरूको मन त गोरो पो रहेछ।"

बुद्ध जन्मेको देशकी छोरीलाई बुहारी पाउँदा बौद्धमार्गी किथ्रीको परिवार गद्गद नै थियो। शोभा भन्छिन्, "सासू र श्रीमान्ले कुनै कुरामा पनि असहज हुन दिनुभएन। सबै जना साह्रै सरल र सहयोगी।" भाषा, खाना र पहिरन भने सुरुआती दिनमा शोभाका लागि केही असहज रहे। त्यसो त पतिले नेपाली भाषा प्रस्टसँग बोल्ने र बुझ्ने भएकाले ठूलो सहयोग भयो।

देवीदेवताका मन्दिर जाने बानी परेकी शोभालाई विवाहपश्चात् एकाएक बुद्ध विहार जानुपर्दा केही अप्ठ्यारो नलागेको होइन। तर, यहाँको समाज र संस्कृतिसँगको दुई दशक लामो संगतले ती असहज दिन अब विस्मृतिमा पुगिसकेका छन्। रमाइलो त के भने अहिले पनि यो परिवारमा नेपाली र सिंहाली दुवै भाषा बोलिन्छ। १९ वर्षीय छोरा मधुशंकसमेत नेपाली बुझ्छन् र हल्काफुल्का बोल्छन् पनि। शोभा भन्छिन्, "यसले पनि माइती देशको न्यास्रो मेटाएको छ।"

उता स्थानीय एक बिमा कम्पनीमा कार्यरत किथ्रीचाहिँ नेपाली संस्कृति र परम्परा सिंहालीसँग मिल्दोजुल्दो भएकाले पनि आफूलाई खासै असहज नभएको सुनाउँछन्। बिहे र कपडासम्बन्धी निर्णय व्यक्तिको आफ्नै हुनुपर्छ भन्ने श्रीलंकाको पुरानो मान्यता र त्यसमाथि जेठो छोरा भएकाले आफ्नो निर्णयमा परिवारलाई सहमत गराउन खासै कठिन भएन किथ्रीलाई। भन्छन्, "परिवारलाई महत्त्व दिने परम्पराका कारण सबै कुरा सहज भयो।"

करबि १० वर्षको नेपाल बसाइका क्रममा किथ्रीले रुकुम, सल्यान, कास्कीलगायत जिल्लामा रहेर नेपाली समाज, रीतिरिवाज र संस्कृतिसँग नजिकबाट साक्षात्कार हुने मौका पाएका रहेछन्। र, त्यही अनुभवले पनि उनलाई सिंहाली परिवारमा नेपाली बुहारी भित्र्याउने आँट दियो। अहिले तिनै बुहारी अर्थात् शोभा श्रीलंकाली पर्यटकलाई नेपाल, खास गरी लुम्बिनी घुमाउन ल्याउने कार्यमा संलग्न छिन्, जसले श्रीलंका र नेपाललाई जोडिरहेकै छ।

No comments:

Post a Comment