Pages

पाशविक यातना दिने ६ पक्राउ

Thursday 25 July 2013
  • कारबाही माग्दै प्रदर्शन
बेलबारी (मोरङ), श्रावण १० - कानुनको पर्वाह नगरी गाउँलेहरू मिलेर एक दलित महिलालाई पाशविक यातना दिनेहरूमध्ये ६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
अभियुक्तहरूमध्ये जीवन भेटवाल, अमित भेटवाल, सविता भेटवाल, चन्द्रकला भेटवाल, अम्बिका भेटवाल र कमला भेटवाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक दिलीपकुमार गिरीले बताए । घटनामा संलग्न रहेको भनिएका कवीन्द्र प्रसाइर्ं फरार छन् । 'श्रीमतीको उपचारका लागि काठमाडौं गएको भन्ने जानकारी आएको छ । हामीले चाहेका बेला पक्रन सक्छौं,' गिरीले भने, 'अमानवीय घटना भएको हो । कारबाही चलाउन प्रहरी कटिबद्ध छ ।' अभियुक्तहरूसहितका गाउँलेले बेलबारी-३ करमडाँडाकी दलित महिला र एक दलित अगुवालाई सोमबार कालोमोसो दलेर कुटपिट गर्दै जुत्ताको माला लगाएका थिए । अभियुक्तहरूलाई बेलबारी प्रहरीले बुधबार सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दामा कारबाही चलाउन म्याद थप गरेको छ । यसैबीच विभिन्न पार्टीका दलित संघ/संगठनले दोषीमाथि कारबाहीको माग गर्दै बेलबारीमा प्रदर्शन गरेका छन् । र्‍यालीसहित प्रदर्शन गरेका उनीहरूले इलाका प्रहरी कार्यालय अगाडि कोणसभा पनि गरे । राष्ट्रिय मानव अधिकार आयोग र जिल्लास्तरीय मानव अधिकार सञ्जालसँगै दलितका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरूले प्रहरी, पीडित र घटनाका आरोपी पक्षलाई छुट्टाछुट्टै भेटी जानकारी लिएका छन् । यसरी भयो घटना बेलबारी बजारस्थित रिजेश होटलमा काम गर्ने पीडित युवती आठ महिनादेखि हरेक बिहान ६ बजे आउँथिन् र साँझ घर फिर्थिन् । उनका ८ र १२ वर्षका छोराछोरी छन् । श्रीमान वैदेशिक रोजगारीका लागि मलेसिया गएका छन् । होटल सञ्चालक माधव ढकाल भन्छन्, 'उनको बानीमा खोट छैन । जे भयो अमानवीय घटना भएको हो ।' गत आइतबार साँझ सधैंझैं उनी काम गरेर सिसौली खोला तरेर घर पुग्ने छोटो बाटोबाट गइन् । साँझको समयमा उनलाई अज्ञात व्यक्तिले मुख थुनेर बलात्कार गर्न खोज्यो । उनले हारगुहार लगाइन् । हिलोमा पछारिइनि् । त्यो मान्छे भाग्यो । छिमेकीहरू आएर लाइट लिएर हेर्न गए कोही भेटिएन । घटनाको हल्लीखल्ली भयो । उनले छिमेकी भाइ मनोज विश्वकर्मालाई घटना सुनाएपछि प्रहरीमा जाने निधो भयो । उनीहरू पुगे । पीडित भन्छिन्, 'मलाई त्यो जीवन भेटवाल जस्तो लाग्यो । प्रतिकार गर्दा मैले उसको हात टोकेकी थिए । रगतपच्छे भएको थियो । लुगामा रगत लागेको थियो ।' प्रहरीले सोही रात जीवनलाई सोधपुछका लागि इप्रका ल्यायो । उनको हात र शरीरका कुनै पनि भागमा चोट नभेटेपछि गाउँ/समाज पनि भेला भयो । सोही समय दुवै पक्षबीच मौखिक मिलापत्र भयो । प्रहरी निरीक्षक गिरी भन्छन्, 'दोषी पहिचानको मुख्य दाबीअनुसार चोटपटक नभेटेपछि हामीले थुनिराख्नुपर्ने बलियो कारण रहेन । उहाँहरूले एकापसमा मिलेर बस्ने सहमति गर्नुभयो । हामीले जान दियांै ।' निराधार आरोप लगाएको भन्दै जीवन र उनका केही आफन्तले रिस राखेका थिए । दोस्रो दिन सोमबार साढे १० बजे गाउँले स्थानीय अन्नपूर्ण एकेडेमी बोर्डिङमा भेला भए । काममा गएकी उनलाई फोन गरेर समाजको छलफलका लागि बोलाइयो । होटल सञ्चालक ढकालले भने, 'त्यस्तो घटना हुन्छ भन्ने जानेको भए म उनलाई जाऊ भन्दिनथें । थाहा भएन । गाउँ/समाजले छलफलका लागि बोलाएकामा जानुपर्छ, जाऊ भनेर मैले नै भनेको हुँ ।' उनी उक्त स्कुलमा पुगेपछि महिला बाहुल्य भीडले केरकार गर्‍यो । झूटा आरोप आइन्दा नलगाउने भन्दै माफी मगायो । त्यसपछि कालोमोसो दलेर कुटपिट गर्दै जुत्ताको माला लगाए । अघिल्लो दिन उनलाई प्रहरीसम्म जाहेरी दिन सघाउने मनोजलाई पनि खोजेर कालोमोसो दले । घटनापछि पीडित महिला र मनोजले भागेर ज्यान जोगाए । मोसो दलेकै अनुहार लिएर मनोज प्रहरीकहाँ पुगे । प्रहरी निरीक्षक गिरी भन्छन्, 'घटना थाहा हुनेबित्तिकै हामीले आरोपी जीवन, अमित र कवीन्द्रलाई पक्रेर ल्यायौं ।' उनका अनुसार समाजले कारबाही प्रक्रिया अघि बढ्न दिएन । 'उहाँहरू सबै मिलेर फेरि आउनुभो । हामी मिल्छौं भन्नुभयो,' उनले भने, 'त्यसपछि राति नै हामीले तीनै जनालाई छाड्नुपर्‍यो । न पीडित ले उजुरी दिइन न त मनोज भाइले ।' सोमबार बेलुकी स्थानीय सञ्चारकर्मीले घटनाका तस्बिरहरू र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रहरी दबाबमा पर्‍यो । 'मैले ती बहिनीलाई नडराउनुस् भनेर आफ्नै गाडीमा चढाएर ल्याई जाहेरी दिन लगाएँ,' गिरी भन्छन्, 'यसपछि कारबाही चलाउने आधार तयार भएको छ । अमानवीय घटनामा हामी चुप लागेर बस्दैनांै । अनुसन्धान गर्छौ, कारबाही चलाउन प्रतिबद्ध छौं ।' उनले के गरिन् करमडाँडा गाउँमा भेटवाल र उनी वल्लोपल्लो घर भएका छिमेकी हुन् । दलितका घर तीनवटा मात्रै छ । मलेसियामा सेक्युरिटी गार्डको काम गर्ने जीवन भेटवाल १३ दिनअघि छुट्टीमा घर आएका हुन् । घटनापछि पीडित ले आफ्नो घर छाडेर दिदी मैयाकहाँ इन्द्रपुर गाविस-३ त्रिवेणीटोलमा शरण लिएकी छन् । शरण लिएकै ठाउँमा पत्रकार र अधिकारकर्मीको ठूलो जत्था पुग्दा उनी संयमित देखिइन् । 'हाम्रो खास बोलचाल थिएन । उनीहरू र हाम्रो आउजाउ थिएन,' उनले भनिन्, 'मलाई जबर्जस्ती गर्न खोजेको घटनामा जीवन थिएन भने को थियो ? पछि मैले माफी पनि मगेकी हुँ ।' पहिलो दिनको घटनापछि आफू र मनोज भाइमाथि नहुनुपर्ने घटना भएको उनले बताइन् । 'मोसो दलेको, कुटेको र जुत्ताको माला लगाएको हिसाब हुनुपर्छ,' उनले भनिन्, 'आफूलाई एक्लै ठानेकी थिएँ । तर, मेरो पक्षमा पनि आवाज उठेकाले बलियो महसुस भएको छ ।' दुई वर्षअघि आफ्नी १३ वर्षीया भतिजीमाथि यौन दुव्र्यहारको घटना भएको बताउँदै उनले भनिन्, 'त्यो बेला पनि कुरा गाउँमै मिल्यो । ५ कट्ठा जग्गा दिए । योपल्ट १० कट्ठा जग्गा लिने नियतले मैले जीवनलाई आरोप लगाएको भन्दै मोसो दले ।' भतिजीको घटनामा पीडक जीवनका बाबु रहेको आरोप उनको छ । यता जीवनका बाबु ६० वषर्ीय रामचन्द्रले भने बलात्कार प्रयासको आरोप लागेका बेला जीवन आफ्नो काका भवानीको घरमा खाना खान गएको दिन परेको उनले सुनाए । 'मोसो दल्ने काम नहुनुपथ्र्यो । समाजले गरेको हो । मैले देखेको घटना होइन । तर, हामी निर्दोष छौ,' उनले भने, 'उनको परिवारसँगका पुराना कुरा नकोट्याउँ ।' कारबाही चलाउन प्रतिबद्धता जनाएको प्रहरीले पीडित मध्येका मनोजको सहयोग नपाएको गुनासो गरेको छ । प्रहरी निरीक्षक गिरीले भने, 'जाहेरी दिन र पीडक पहिचान गर्न बोलाउँदा पनि आएका छैनन् ।' प्रहरीको छानबिन समिति घटना छानबिनका लागि पूर्वक्षेत्रीय प्रहरी कार्यालयले बुधबार एसपी शेखर कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । अपांग, बालबालिका र महिलामाथि हुने कुनै पनि प्रकारका थिचोमिचो र हिंसाका घटनामा मिलापत्र नगराउन आफ्ना मातहतका इकाईलाई क्षेत्रले निर्देशन दिएको छ । पीडित लाई नै पासविक यातना

प्रकाशित मिति: २०७० श्रावण १० ०८:३५ @ekantipur.com

No comments:

Post a Comment